
काठमाडौं । अमेरिकाको एक अदालतले बीउबिजनसम्बन्धी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई २८ करोड ९० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
क्यालिफोर्नियाको अदालतले विश्वभरि नै विवादास्पद रहेको सो कम्पनीलाई ठूलो रकम क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।
करिब दुई महिना लामो सुनुवाइपछि न्यायाधीशहरुले कृषिसम्बन्धी बहुराष्ट्रिय कम्पनीलाई सबै गरेर करिब २९ करोड डलर क्षतिपूर्ति तिराउने आदेश दिएका हुन् ।
एकजना व्यक्तिले ग्लाइफोसेट नामक झारनाशक विषादीले आफूलाई क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दामा अदालतले सो आदेश दिएको हो ।
अदालतले मोन्सान्टो कम्पनीका राउन्ड अप र रेन्जरप्रो लगायतका झारनाशक विषादी खतरनाक रहेको र त्यसबारे उपभोक्तालाई सचेत गराउन कम्पनी असफल भएको ठहर गरेको हो ।
तर मोन्सान्टोले भने ग्लाइफोसेटले क्यान्सर हुनसक्छ भन्ने कुरालाई अस्वीकार गरेको छ । उसले अदालतको आदेशविरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।
संयुक्त राष्ट्र संघको एउटा अध्ययनले पनि यो विषादीले क्यान्सर लगाउनसक्ने जनाएको छ ।
तर अन्य केही वैज्ञानिकहरूले चाहिँ यो प्रयोग गर्न सुरक्षित नै हुने बताएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्