
काठमाडौं । नेपालमा दोस्रो पटक कोरोना भाइरसको संक्रमण देखिएका किशोरीसँगै आएको बागलुङ ढोरपाटनका युवाको खोजी थालिएको छ ।
यही चैत ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइए पछि उनीसँगै एउटै जहाजमा आएका जिल्लाको ढोरपाटन नगरपालिका अधिकारीचौरका युवालाई पनि विशेष निगरानीमा राख्न पहल थालिएको छ ।
उनी कतारबाट आएर एक रात काठमाडौं बसेर भोलिपल्ट गृह जिल्ला प्रस्थान गरेका थिए । अहिले उनी आफ्नै गाउँमा रहेका छन् ।
गाउँ आएका युवा कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबर पछि गाउँले थप भयभित भएका छन् ।
घरमा रहेका उनलाई पैदल यात्रा मार्फत आज बुर्तिबाङ बजारमा ल्याइने ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए ।
संक्रमणको आशंका गरिएका उनीहरु चैत ४ गते कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं आएका थिए ।
यसैबीच कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङका एक जना युवाको र्याल परीक्षणमा पठाइएको छ ।
धौलागिरी अञ्चल अस्पताल बागलुङले सोमबार शंकास्पद बिरामीको नमूना संकलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएको हो ।
पाँच दिन पहिला भारतको पटनाबाट आफ्नो घर बागलुङ आएका बिरामीमा ज्वरो, खोकीलगायतका लक्षण देखा परेपछि परीक्षणका लागि अस्पताल आएका थिए ।
सोमबार आएका उनको स्वास्थ्य परीक्षणपछि नमूना पठाइएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. पुजन बल्लले जानकारी दिए ।
अस्पतालले बिरामीलाई आईसोलेसनमा राखेर उपचार गरिरहेको छ । सोमबार चेकजाँचका क्रममा भने ज्वरो नभेटिएको समेत बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्