
काठमाडौं, चैत १० । सरकारले ‘कोभिड–१९’ रोकथाम र नियन्त्रण गर्न ‘चिनियाँ मोडल’को तयारी थालेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीन सरकारसँगको सहकार्यमा काम भइरहेको जानकारी दिएका हुन् ।
विश्वव्यापी फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि विश्वमा अहिले दुईओटा मोडल अपनाइएका छन् ।
पहिलो, चिनियाँ मोडल हो । जुन ‘लकडाउन’ गरी संक्रमण रोकथाम गर्ने गरिन्छ । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरी उपचारमा जुटेको थियो ।
दोस्रो, मोडल भने लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने हो । जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफलरूपमा अपनाइरहेका छन् ।
नेपालले पनि कोरोना संक्रमणको रोकथामका लागि चीनले अपनाएको लकडाउन मोडल नै अपनाउने भएको छ ।
चीनमा अनलाइनबाट खानाको ‘अर्डर’ गर्न सहज भएकाले पनि राज्यले मानिसलाई घरमै राखेर सेना, प्रहरीमार्फत् आवश्यक सामान उपलब्ध गराइएको थियो । सबैजसो परीक्षण घरमै गएर गरिएको थियो ।
परीक्षणका क्रममा ‘पोजेटिभ’ देखिएका र निमोनिया लागेकालाई अस्पतालमा लगेर उपचार गरियो ।
चीनको यो मोडललाई सुरुमा पश्चिमाहरूले मानवअधिकार हनन् तथा अमानवीय व्यवहार भनी आलोचना गरे । तर, यतिखेर सबैजसो मुलुकले यही मोडल कार्यान्वयन गर्न लागिरहेका छन् ।
दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले भने चीनको लकडाउन मोडल अपनाएनन् । उनीहरूले ठूलो संख्यामा क्याम्प खडा गरेर निमोनिया र कोभिड–१९ का लक्षण देखा परेकालाई परीक्षण गरी उपचार गरेका छन् । त्यसैले उनीहरूले लकडाउन कम समयका लागिमात्र गरे ।
चिनियाँ मोडल एकद्वार प्रणालीअनुसार हुने भएकाले संक्रमण रोकथाम र नियन्त्रणमा राज्यले नै सेवा–सुविधा प्रवाह गर्यो । त्यसैले त सुरुमै अस्पताल भर्ना हुँदा ठीक भएको संख्या पनि ठूलो छ ।
सो उपाय नेपालका लागि पनि सहयोगसिद्ध हुने विश्वास गरिएको छ ।
चिनियाँ मोडलजस्तै गर्न पूर्वाधारको तयारी र परीक्षण किट्स उपलब्ध हुनुपर्दछ । चीनले छोटो समयमा अस्पताल पनि निर्माण गरेकाले त्यो सम्भव भएको हो ।
तर, सो संरचना निर्माण पनि हुन नसक्दा र ‘क्वारेन्टाइन मोडल’ अपनाउँदा इटालीको अवस्था विकराल छ । नेपाल त्यसतर्फ पनि सचेत बन्नु आवश्यक छ ।
चिनियाँ मोडल पछ्याउन नेपाल र चीनबीच ‘भिडियो कन्फरेन्स’समेत भएको छ भने चीनले सबैखाले सहयोगको प्रतिबद्धता पनि जनाएको छ ।
कोरोना संक्रमणको प्रारम्भिक अवस्थामा रहेको नेपालले तत्काल युद्धस्तरको तयारीसाथ अघि बढ्नुको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस्