१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


‘स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाइने’


0
Shares

काठमाडौं, चैत १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाभाइरसको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षाका ५०० भन्दा बढी उपकरण रहेको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)सम्बन्धी ‘प्रोटोकल’ बनाउन लागेको जानकारी दिए ।

बिरामीको उपचारका लागि पीपीई अतिआवश्यक रहेको भन्दै डा. देवकोटाले पीपीई लगाएरमात्र बिरामीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने बताए ।

स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाउने उनको भनाइ थियो ।

यस्तै, अस्पतालहरुमा ‘फिवर क्लिनिक’ सञ्चालनमा ल्याउने, दुई हप्तासम्म ‘पेयिङ’ प्रणाली बन्द गर्ने, नियमित शल्यक्रिया र अन्य उपचारलाई केही दिनपछि सार्न अस्पतालहरुलाई निर्देशन दिएको बताए ।

हाल भक्तपुरको खरिपाटीस्थित ‘क्वारेन्टाइन’मा ७१ जना नेपाली र विदेशीहरुलाई राखिएको भन्दै उनीहरुको आवश्यकतानुसार कोरोना परीक्षण गरिने डा. देवकोटाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले टेकुमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाजस्तै प्रयोगशाला सातओटै प्रदेशमा विस्तार गरिनेलगायतका योजना रहेको बताए ।