काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) को सन्त्रास विश्वभर फैलिँदै गएपछि नेताहरुले निवास तथा पार्टी कार्यालयमा हुँदै आएका दैनिक भेटघाट तथा कार्यक्रम बन्द गरेका छन् ।
कोरोना संक्रमण विश्वभर फैलँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सबै राजनीतिक दलका शीर्ष नेताले दैनिक भेटघाट र कार्यक्रम बन्द गरेका हुन् ।
‘प्रधानमन्त्रीज्यूले अति आवश्यक भेटघाट र जरुरी काम तथा निर्देशनलाई निरन्तरता दिइरहनु भएको छ, दैनिक रूपमा हुने अन्य कार्यक्रममा भने सहभागिता जनाउनुभएको छैन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राजधानीसँग भने ।
प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए भने मन्त्रिपरिषद्को बैठकमा पनि सहभागी भएका थिए ।
यसैगरी, नेकपाका अध्यक्ष दाहालले नेता कार्यकर्तासँग हुने गरेका दैनिक भेटघाट तथा कार्यक्रम बन्द गरेका छन् ।
दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले अध्यक्ष दाहालले विगत एक सातादेखि नै नियमित भेटघाट र कार्यक्रममा सहभागिता नजनाएको जानकारी दिए ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति विमलेन्द्र निधिसहितका नेताहरुले निवास तथा पार्टी कार्यालयमा गर्दै आएका नियमित भेटघाट बन्द गरेका छन् । -राजधानी दैनिकबाट










प्रतिक्रिया दिनुहोस्