Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


निर्वाचनको मुखमा व्यापक सरुवा, बढुवा र नियुक्ति


923
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन ४१ दिन मात्रै बाँकी रहँदा सरकारले आफ्ना नेता कार्यकर्तालाई विभिन्न निकायमा नियुक्ति गर्ने क्रमलाई तीव्रता दिएको छ । सरकारले निर्वाचन नजिकिँदै गर्दा ठूलो संख्यामा प्रहरी तथा कर्मचारीको सरुवा गर्दै आपूm अनुकूलको प्रहरी प्रशासन बनाउने प्रयास गरेको छ । सरकारले प्रहरी प्रशासनमा समेत हस्तक्षेप गरी निर्वाचनलाई आपूm अनुकूल बनाउन खोजेको हो । पछिल्ला दिनमा सरकारी निकाय कार्यकर्ता भर्ने भर्तीकेन्द्रको रूपमा रूपान्तरण हुन थालेको सरकारी अधिकारीले बताएका छन् ।

सरकारले गत २४ माघमा नै आगामी २०७९ साल वैशाख ३० मा हुनेगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको थियो। चुनावको मिति घोषणा गरेको ढेड महिनाको अवधिमा सरकारले ठूलो संख्यामा कर्मचारी सरुवा, बढुवा र राजनीतिक नियुक्ति गरेको हो । सरकारले बिहीबार मात्रै ४३ जिल्लामा भूमि आयोगमा अध्यक्षको नियुक्ति गरेको छ । यसरी भूमि आयोग जस्तो निकायमा नियुक्ति लिनेहरूमा सत्तारूढ दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीका जिल्लास्तरका नेता तथा कार्यकर्ता छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार पछिल्लो २०-२५ दिनको अवधिमा मात्रै सयाै नियुक्ति भएका छन् । यही अवधिमा सरकारले नेपाल प्रहरीमा तीन एआईजी पदसमेत थप गरी तीन जनालाई एआईजीमा बढुवा गरिसकेको छ । सो बढुवा विवादित भएपछि हाल बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । यसैगरी केही दिनअघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका मात्रै ५ सय १३ भन्दा बढी कर्मचारीको सरुवा गरेको थियो । यसैबीचमा विभिन्न मन्त्रालयका दर्जनौं सहसचिवको सरुवा भइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । त्यसअघि सरकारले दुई दर्जनभन्दा बढी सचिवको सरुवा गरेको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।