काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण तीन दिन बाँकी रहँदासम्म भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे छलफल जारी नै रहेकाले अहिले भन्न सक्ने अवस्था नरहेको बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले मन्त्रालयले सोमबार जारी गरेको भ्रमण कार्यक्रम तालिकाभन्दा बढी बताउनुभएन ।
भारत भ्रमणको एजेन्डा वा सम्भावित एजेन्डाबारे पत्रकारले पटकपटक सोधेपछि आजित भएर प्रवक्ता लम्सालले भन्नुभयो– ‘कृपया यस्तो प्रश्न नसोधेर सहयोग गरिदिनुहोला ।’ त्यस्तै भ्रमण दलको संख्याका विषयमा सोधिएको जिज्ञासामा पनि उहाँले अनभिज्ञता प्रकट गर्नुभएको थियो । हुन त हामीकहाँ प्रधानमन्त्रीको विदेश भ्रमणमा भ्रमणको अन्तिम दिनमा समेत भ्रमण दलमा सदस्य थपिने प्रचलन छ । पूर्वशिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठले सन् २००६ मा तत्कालीन प्रधानमन्त्रीको भारत भ्रमणका बेलामा २ घण्टा अघिसम्म पनि भ्रमण दलका सदस्य थपिएको स्मरण गर्दै भन्नुभयो– ‘उच्चस्तरीय भ्रमणमा भ्रमण दलको सदस्य भ्रमणकै दिनमा पनि थपघट हुने गरेको छ ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीच ती भूभागलाई लिएर विवाद सिर्जना भएको छ । विवादित भूभागबारे वार्ताबाट समस्या समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै भारतले नेपालको नयाँ नक्सा स्वीकार नगर्ने प्रतिक्रिया दिएको थियो । विवादकै बीचमा विवादित भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रोपटक सडक विस्तारको कार्य अगाडि बढाएपछि नेपालमा त्यसको विरोध भइरहेको छ । उक्त विषयमा छलफल गर्न नेपालले भारतसँग पटकपटक उच्च स्तरीय राजनीतिक बैठक बस्न आग्रह गरे तापनि भारतले आलटाल गर्दै आएको छ । यसपटकको भ्रमणको एजेन्डमा उक्त विषय पनि समावेश छ कि भनेर राखिएको जिज्ञासामा प्रवक्ता लम्सालले भन्नुभयो–‘छिमेकी मुलुकसँग छलफल गर्नुपर्ने पक्कै पनि धेरै मुद्दा छन् । सीमाको विषय पनि महत्वपूर्ण छ, वार्ता हुन्छ होला । तर मेरो जानकारीमा छैन ।’
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्