Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


‘सरकारको निरन्तरताका लागि गठबन्धन जरुरी’


104
Shares

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित रही छलफल भइरहेको छ । ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा र केन्द्रीय संसदीय समिति गठन गर्ने प्रमुख एजेन्डा लिएर शुक्रबारदेखि बैठक बसी छलफल चलिरहेको छ । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित भएर आफ्नो विचार राखिरहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ । सबैको धारणा आइसकेपछि एउटा निर्णयमा पुग्ने भन्दै प्रवक्ता महतले अन्य दलसँग गठबन्धन गरेर चुनावमा गए पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गरे पनि धेरैभन्दा धेरै पालिका र वडामा अध्यक्ष जित्ने गरी केन्द्रीय सदस्यहरूको धारणा आइरहेको बताउनुभयो ।

बैठकमा कतिपय केन्द्रीय सदस्यहरूले स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल सरकारको निरन्तरतासँग पनि जोडेका छन् । केन्द्रीय सदस्य पुष्पा भुसाल, जीवनबहादुर शाहीलगायतले अहिले गठबन्धनको सरकार भएको भन्दै यो सरकारको निरन्तरताका लागि पनि निर्वाचनमा सत्ताघटक दलहरूबीच गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए । आगामी निर्वाचनमा हुने गठबन्धनलाई सरकारको निरन्तरताको विषयसँग गाँसेर हेर्नुपर्ने धारणा आए पनि धेरैजसो केन्द्रीय सदस्यले आवश्यक्ताको आधारमा स्थानीय संरचनाले नै गठबन्धनबारे निर्णय लिनुपर्ने धारणा राखेका छन् ।

बैठकमा आफ्नो धारणा राख्ने क्रममा केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले कांग्रेसभित्र आन्तरिक एकता मजबुत बनाएमा अन्य दलसँगको गठबन्धन आवश्यक नभएको बताउनुभएको थियो । ‘अरु पार्टीसँग गठबन्धन गर्नुभन्दा पनि आफ्नै पार्टीभित्र आत्मबन्धन नेतृत्व पंक्ति गम्भीर हुनुपर्छ’, आचार्यले भन्नुभयो– ‘कांग्रेस एकताबद्ध भएको सन्देश दिन सके आम नेता, कार्यकर्तामा उत्साह बढ्छ र यसले चुनाव जित्ने तागत सिर्जना गर्छ ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।