
-राकेश बस्नेत /ईमेज
दाङ । हिउँदे वर्षाको कारण करोडौँ रुपैयाँ बराबरको काँचो ईट्टामा क्षति पुगेको छ । सरकारले बीमासम्बन्धी मागको कुनै सुनुवाइ नगर्दा आफूहरुले पटकपटक ठूलो क्षति भोग्न बाध्य भएको व्यवसायीको दुखेसो छ ।
हिउँदे वर्षाका कारण ईट्टा उद्योगीले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका १८ विजौरीमा रहेको जय महालक्ष्मी ईट्टा उद्योगमा करिब ३ लाख ईट्टामा क्षति पुगेकाले करिब १७ लाख बराबरको नोक्सानी भएको उद्योगका व्यवस्थापक रोशन वलीको भनाइ छ ।
काँचो ईट्टाको विमा पनि नहुने भएकाले राज्यबाट पनि सहयोग नहुने उनीहरुको गुनासो छ । ईट्टामा नोक्सानी भएपछि इट्टाको मूल्य बढाउनुपर्ने बाध्यता भएको व्यवसायीको भनाइ छ ।
त्यस्तै तुलसीपुर १८ डाँडागाउँस्थित इट्टा उद्योगमा ३० लाख बराबरको ईट्टा क्षति भएको व्यवसायी बालकृष्ण बुढामगरको भनाइ छ ।
मजदुरहरुलाई आफूहरुले काँचो इट्टाको प्रतिगोटाका आधारमा पैसा तिर्नुपर्ने भएकाले ठूलो नोक्सानी बेहोर्नुपरेका व्यवसायी बुढामगर बताउँछन् ।
यता, तुलसीपुर १९ बासगढीमा रहेको शिव ईट्टा उद्योगमा पनि यो हिउँदे पानीका कारण करिब १ करोड बराबरको क्षती भएको बताइएको छ ।
फायर गर्नको लागि तयारी अवस्थामा रहेको ईट्टा नोक्सानी भएको उद्योगका सञ्चालनक शिव कुमार चौधरीको भनाइ छ ।
सरकारसँग धेरै पटक बीमासम्बन्धी माग गरे पनि कुनै सुनुवाइ नभएको इटा उद्योग संघ प्रदेश ५ का कोषाध्यक्ष प्रेमनाथ योगीको भनाइ छ ।
दाङमा मात्र यो हिउँदे बर्षाले ३ करोड ईट्टा नोक्सान भएको र प्रदेश ५ मा करिब १५ करोड ईट्टामा क्षति पुगेको दाङ देउखुरी ईट्टा ब्यवसायी संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्