Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


‘कोरोना’ त्रासः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरियो यस्तो व्यवस्था


0
Shares

नारायणी लामिछाने र राजेन्द्र नापित (इमेज)

काठमाडौं, चैत १ । ‘कोरोना’को संक्रमण हुन नदिन सरकारले विभिन्न देशको ‘अनअराइभल भिसा’मा रोक लगाउनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि स्वास्थ्य जाँचलाई बलियो बनाएको छ ।

विमानस्थलमा छुट्टै ‘हेल्थ डेस्क’को स्थापना गरी नेपाल भित्रिने सबै यात्रीहरुको स्वास्थ्य जाँच तथा ८ देशबाट भित्रिने नागरिकलाई भने कोरोना नभएको प्रमाणपत्र बुझाएपछिमात्रै नेपाल भित्रिन सक्ने व्यवस्था शनिबारबाट लागू गरेको हो ।

सरकारले नेपालमा कोरोनाभाइरसको संक्रमण फैलन नदिनका लागि विभिन्न देशको अनअराइभल भिसामा रोक लगाउनुका साथै विदेशबाट फर्किने नेपाली वा विदेशीलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्नको लागि निर्देशन जारी गरेको छ ।

विश्वभर १६५ बढी देशमा फैलिइसकेको यो भाइरसबाट बच्न नेपाल सरकारले विमानस्थलको स्वास्थ्य जाँच बलियो बनाउनुका साथै प्रभावित देशबाट फर्किने जोसुकैले पनि कोरोना नभएको प्रमाणपत्र पेस गरेपछिमात्रै नेपाल भित्रिन सक्ने व्यवस्था गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले जनाएको छ ।

शनिबारदेखि फ्रान्स, जर्मनी स्पेन, इरान इटाली, कोरिया, चीन, ताइवान, मकाओजस्ता ८ देशका नागरिकले कोरोना नभएको प्रमाणपत्र पेस गरेपछिमात्रै नेपाल भित्रिन सक्ने व्यवस्था गरेको छ ।

विमानस्थलमा जुनसुकै देशबाट आउने प्रत्येक यात्रीलाई व्यक्तिगतरुपमा ‘स्क्रिनिङ’ गरिँदै आएको छ ।

जोसुकै नेपालको विमानस्थलमा प्रवेश गरेपछि सो व्यक्तिलाई सबैभन्दा पहिला सेनिटाइजर छर्किइन्छ र ‘इन्फ्रारेट थर्माेमिटर’बाट तापक्रम मापन गरी ‘सेल्फ डिक्लेरेसन फर्म’ भरिन्छ । सोपश्चात् पुनः जाँच गरिन्छ ।

यदि, पुन जाँच गर्दा तापक्रम बढी देखिएमा पुनः अर्काे फर्म भर्न लगाइ उनीहरुलाई हेल्थ डेस्क लगेर राखिन्छ र सोही ठाँउबाटै एम्बुलेन्समा राखी ताोकिएको अस्पताल टेकु वा पाटन अस्पतालसम्म पुर्‍याउने व्यवस्था गरिएको विमानस्थल हेल्थ डेस्कका डा. कमलेश मिश्रले जानकारी दिए ।

यदि, कुनै बिरामीलाई ज्वरो आएको छ भने सो बिरामीसँगै आउने स्वस्थ व्यक्तिलाई पनि सेल्फ क्वारेन्टाइनमै १४ दिनसम्म बस्नको लागि सुझाव दिँदै आएको छ ।

विश्वका धेरै मुलुकमा फैलिएको कोरोना नेपालमा पनि फैलन सक्ने भन्दै विश्व स्वास्थ संगठनलेसमेत उच्च जोखिममा राखेको छ ।

भिडियो हेर्नुहोस्