
काठमाडौं, चैत १ । सधैं मानिसको भीडभाडले घेरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ ।
‘कोरोनाभाइरस’को त्रासका कारण नेपाल सरकारले विभिन्न मुलुकका नागरिकलाई दिने ‘अनअराइभल भिसा’मा रोक लगाएपछि विमानस्थल भएर ओहोर–दोहोर गर्ने यात्रीको संख्या घटेको हो ।
योसँगै सरकारले तत्कालका लागि विभिन्न मुलुकको श्रमबजारमा जाने कामदारको श्रम स्वीकृतिसमेत रोकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यासमेत घटेको छ ।
सरकारले श्रम स्वीकृति रोकेपछि कामका लागि विदेशिन ठिक्क परेका सयौं नेपाली कामदारले हवाई टिकट रद्द गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान हुँदा त्यसको प्रत्यक्ष असर व्यापार–व्यवसायमा पनि परेको छ ।
दैनिक २० हजारसम्म कारोबार हुने विमानस्थल परिसरका पसलहरु अहिले सुनसान छन् ।
अनअराइभल भिसा तथा श्रम स्वीकृति रोकिएपछि थुप्रै अन्तर्राष्ट्रिय वायुसेवाले नेपालतर्फको उडान कटौती गरेका छन् । यसको प्रत्यक्ष असर काठमाडौं विमानस्थलमा देखिन थालेको छ ।
हवाई यात्रीलक्षित ट्याक्सीचालकसमेत यात्री अभावका कारण गाडी चलाउनै नसक्ने अवस्थामा पुगेको बताउन थालेका छन् ।
अध्यागमन विभागकाअनुसार एक महिनायता नेपाल भित्रिने विदेशी पर्यटकको संख्या निरन्तर ओरालो लागेको छ ।
श्रमबजारमा जाने तथा फर्किने नेपालीको संख्यासमेत ह्वात्तै घटेपछि यसको असर हवाई उड्डयन क्षेत्रमा परेको हो ।
प्रतिक्रिया दिनुहोस्