काठमाडौं । हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ ।
विमानस्थलमा उडानका लागि कुवेतको जजिरा, श्रीलंकाको श्रीलंकन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
उक्त विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडीमुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने छ ।
अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि विभिन्न कम्पनी सम्पर्कमा आएसँगै थप अध्ययनको कार्य सकेर उडान–अवतरणका लागि अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीपकुमार अधिकारीले बताउनुभयो ।
व्यावसायिक उडानका लागि केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल पब्लिकेसन इन्फर्मेसन’ समेत जारी गरिसकेको छ । उक्त विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ, कार्गो, क्याट्रिङलगायतको व्यवस्थापन गर्न बाँकी रहेकाले उक्त काम सकिने बित्तिकै उडान–अवतरणका लागि अनुमति दिइने प्राधिकरणले जनाएको छ ।
यसैगरी, आवश्यक जनशक्तिको अभाव रहेका कारण केही काममा समस्या उत्पन्न भइरहेको उक्त विमानस्थलमा प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विमानस्थलका लागि कूल १ सय ५१ जनशक्तिको दरबन्दी रहे पनि हाल ३६ जना मात्र छन् ।
यो विमानस्थलमा कम्बोडिया, म्यानमार, श्रीलंकालगायत विभिन्न बौद्ध धर्मावलम्बी भएका मुलुकसँगै श्रमिक गन्तव्यमा उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीको सम्भावना उल्लेख्य रहेको प्राधिकरणले जनाएको छ ।
उक्त विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगमले छिट्टै आफ्नो कामको तयारी गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो ।
सरकारले आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको अवसर पारेर सोही दिन उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको हो ।









प्रतिक्रिया दिनुहोस्