नरेन्द्र मानन्धर र भरत केसी (इमेज)
काठमाडौं, फागुन २९ । राष्ट्र र जनकल्याणका लागि नेवार समुदायभित्रका चारै वर्णले एकै ठाउँमा पूजा गर्ने ‘देशोद्धार पूजा’ आर्थिक अभावका कारण रोकिने खतरा बढेको छ ।
उक्त पूजा सञ्चालनका लागि राखिएको गुथीको सम्पत्तिमा पशुपति क्षेत्र विकास कोषले कब्जा जमाएपछि पूजा रोकिने अवस्था आएको हो ।
सो पूजा आउँदो चैत ८ गते गर्ने निर्धारण गरिएको छ ।
प्रत्येक वर्ष पिङ्गला अजिमा बज्रेश्वरीमा पूजा गर्ने चारै वर्णको निजी फेतागुथी परापूर्वकालदेखि चल्दै आएको हो ।
यही गुथीमा रहेको रैकर जग्गाबाट प्राप्त हुने स्रोतबाट देशोद्धार पूजा सञ्चालन हुँदै आएको थियो । तर, पशुपति क्षेत्र विकास कोषले क्षेत्री वर्णभित्र पर्ने वैद्य समुदायको वडा नम्बर–८, तिलगंगामा रहेको १३ रोपनी जग्गा अधिग्रहण गरेपछि पूजा र जात्रा संकटमा परेको हो ।
कोषले २०७० सालमा यो जग्गा अधिग्रहण गरेको र जग्गाधनीलाई मुआब्जा दिने भन्दै सरकारबाट लिएको करिब ३० करोड रुपैयाँसमेत कोष आफैंले राखेको गुथीयारहरुको दाबी छ । सो रकम माग गर्दासमेत कोषले बेवास्ता गरेको उनीहरुको भनाइ छ ।
कोषले मोहीहरु खडा गरेर मुआब्जा दिएको देखाएर जग्गाधनी गुथीयारहरुलाई सात वर्षदेखि झुक्याएकोसमेत आरोप लगाइएको छ । यो घरजग्गालाई मोहीहरुले बहाल दिएर कमाइ खाइरहेको बताइएको छ ।
पशुपति क्षेत्र विकास कोष धर्म, संस्कृतिको नाश गर्न लागिपरेको र स्थानीयलाई विस्तापित गर्न खाजेको आरोप लगाउँदै स्थानीय समाजसेवी सुवर्ण वैद्यले चन्द्रसूर्य रहेसम्म धर्म, संस्कृतिको रक्षा गर्ने बताउँछन् ।
यस वर्ष चार वर्षीय बालकलाई वैश्य वर्णबाट जिम्मेवारी दिनुपर्ने तर आर्थिक अभावका कारण यो पनि हुन नसक्ने अवस्था आएको उनीहरुको दुखेसो छ ।
विजयमान राजभण्डारी पुर्खाले धर्म, संस्कृतिलाई निरन्तरता दिन निजी गुथी राखेको तर कोषले जग्गा मुआब्जाको रकमसमेत पचाउन खोजेको आरोप लगाउँछन् ।
यो पूजामा नेवार समुदायभित्रका चार वर्णले समानरुपले पूजा गर्न पाउने व्यवस्था रहेको छ भने शुद्रको हातबाट ब्राम्हणले प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।
यस्तो विशिष्टता बोकेको पूजा आर्थिक अभावका कारण रोकिनुलाई उचित मान्न सकिँदैन ।









प्रतिक्रिया दिनुहोस्