Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता, कर्मचारीले ८ महिनादेखि तलब पाएनन्


0
Shares

मीरा बस्नेत, कबिर महर्जन र विशाल लामा (इमेज)

काठमाडौं, फागुन २९ । शारीरिक अशक्तता भएका व्यक्तिहरुको सहाराको थलो नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र अपारदर्शीताको उदाहरण बनेको छ ।

सरकारले उपलब्ध गराएको अनुदान रकमको हिसाब–किताब पारदर्शी छैन भने केन्द्रका कर्मचारीहरुले तलबसमेत पाउन छोडेका छन् ।

यो परिस्थिति आउनुको मुख्य कारणचाहिँ गोकर्णेश्वर नगरपालिकाको अनिर्णय रहेको बताइन्छ ।

पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गर्दै आएको काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा  ७५ जना  अपाङ्गता  भएका व्यक्तिहरु आश्रित छन् । यिनको स्याहार–सुसारका लागि १० जना कर्मचारी छन् । तिनले विगत ८ महिनादेखि तलब–भत्ता पाउन सकेका छैनन् ।

नेपाल सरकारले विनियोजन गरेको ७० लाख रुपैयाँ अनुदान बजेट निकासा नहुँदा यो स्थिति आएको केन्द्रकी आजीवन सदस्य गायत्री दाहालले बताइन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले केन्द्रको नाममा आर्थिक वर्ष २०७४/७५ मा ५९ लाख १३ हजार अनुदान बजेट उपलब्ध गराएको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा पनि ५० लाख अनुदान बजेट उपलब्ध गराएको थियो ।

सो रकम कहाँ–कसरी खर्च भयो भनेर कहीँ–कतै पारदर्शी हिसाब–किताब पाइँदैन ।

विगतको खर्चको पारदर्शीता नभइरहेको बेला चालू आर्थिक वर्षका लागि प्राप्त ७० लाख रुपैयाँ अनुदान रकम आठ महिनादेखि निकासा नपाएको केन्द्रद्वारा सञ्चालित अपाङ्गगृहकी गृह प्रमुख सूर्यकुमारी गुरुङ बताउँछिन् ।

मन्त्रालयले अनुदान बजेट निकासाको लागि गोकर्णेश्वर नगरपालिकालाई अख्तियारी दिएको छ । तर, नगरपालिकाले ८ महिनादेखि बिनाकारण बजेट निकासा रोकिरहेको छ ।

यसले गृहमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको उपचार र खानपिनमा समेत समस्या परिरहेको छ ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे बजेट निकासाको प्रक्रिया अघि बढाइएको जिकिर गर्छन् ।

रकम निकासामा ढिलाइमात्र होइन, सेवाको पवित्र भावले सञ्चालित यो केन्द्रमा तीन महिनादेखि भइरहेको आन्दोलन टुंग्याउन पनि नगरपालिकाले चासो दिइरहेको छैन ।

नगरपालिकाको गैरजिम्मेवार शैलीका कारण केन्द्रमा आश्रित अपाङ्गता भएका व्यक्तिहरुको दैनिकीमै असर परेको छ ।

भिडियो हेर्नुहोस्