खिलनाथ ताजपुरिया र राममान डंगोल (इमेज)
काठमाडौं, फागुन २७ । कक्षा–१ देखि ९ सम्मको वार्षिक परीक्षा मंगलबारदेखि सुरु भएको छ ।
सरकारले कोरोनाभाइरसको त्रासका कारण चैत ५ गतेभित्रै कक्षा–९ सम्मको परीक्षा सक्न निर्देशन दिएकाले विद्यालयहरुले फागुनमै वार्षिक परीक्षा लिन थालेका हुन् ।
एसइईलगायत अन्य परीक्षाहरु भने निर्धारित तालिकाअनुसार हुनेछन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा–९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न निर्देशन दिएकाले केही विद्यालयबाहेक देशभरका विद्यालयहरुले कक्षा–१ देखि ९ सम्मको परीक्षा लिन सुरु गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)सँग आवद्ध पाँच हजार ५०० विद्यालयका करिब २० लाख विद्यार्थीहरु परीक्षामा सहभागी भएका हुन् ।
केही विद्यालयलहरुले भने भोलिदेखि परीक्षा सुरु गर्न लागेको प्याब्सनले जनाएको छ ।
यस्तै, एसइईको परीक्षा भने चैत ६ गतेको तालिकाअनुसार हुनेछ ।
यता, राष्ट्रिय परीक्षा बोर्डले कक्षा–११ र १२ को परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै वैशाखमा हुने जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयले पनि मातहतका क्याम्पसहरुको वार्षिक परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन गर्ने बताएको छ ।
त्रिभुवन विश्वविद्यालयले एलएलबी, बीएड र स्नातकोत्तर तथा स्नातक तह चौथो वर्षको परीक्षा वैशाखमा हुने तालिका परिवर्तन नहुने जनाएको छ ।
कोरोनाभाइरसको जोखिम बढेको अवस्थामा मात्रै तालिका हेरफेर हुनसक्ने विश्वविद्यालयको भनाइ छ ।
सरकार आफैंले कोरोनाभाइरसको त्रास फैलाइदिँदा परीक्षा हलमा समेत विद्यार्थीहरु सशंकित अवस्थामा रहेको पाइएको छ । यस्ता विषयमा सरोकारवाला निकायहरुले ध्यान दिनु जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्