Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


माहोल बनाउँदै गाउँमा नेता


117
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँको माहोल सपार्न अहिले राजनीतिक दलका नेताहरू गाउँ तथा टोल केन्द्रित भएका छन्। अहिले राजनीतिक दलहरुले टोल गई टोल भेला गर्नुका साथै गाउँ तथा नगरमा आम भेलाको तयारी गर्न थालेका छन्। स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै यहाँका सक्रिय राजनीतिक दलका नेताहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल बनाउन गाउँ टोल छिरेका हुन्।

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारा बोकेर आइतबारबाट कांग्रेसले देशैभर अभियान थालिसक्यो। यस्तै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीलगायतका राजनीतिक दलका नेता तथा कार्यकर्ता स्थानीय तहको निर्वाचनका लागि माहोल सपार्न अहिले गाउँगाउँ छिरेका छन्। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनरायण शाह ‘मनु’ ले अहिले कांग्रेस टोल समिति गठन गरेर वडास्तरिय कार्यक्रममा गाउँ गाउँ छिरेको बताए। उनले भने,‘हामी चुनावी रणनीति बनाउँदै मतदाताका पीर मर्का बुझ्न फेरि गाउँ छिरेका छौँ।’ टोल टोलमा आफूहरुका संयन्त्र भए पनि उनीहरुको पीडा समस्या र थप ऊर्जा दिन कांग्रेस नेताहरु टोल, गाउँ तथा पालिका स्तरसम्म छिरेको उनले बताए।

यस्तै निर्वाचनको मिति घोषणा भए लगत्तै नेकपा एमाले पनि गाउँ छिरेको छ। अहिले नेकपा एमाले कैलालीका सबै वडामा पुगेर टोल कमिटी गठन गरिरहेको छ। एमाले कैलालीका नेता रणबहादुर चन्दका अनुसार नेकपा एमाले अहिले चुनाव केन्द्रित प्रशिक्षण अभियान लिएर गाउँगाउँ छिरेको छ। ‘हामी चुनाव केन्द्रित प्रशिक्षण अभियान लिएर गाउँगाउँ छिरेका छौँ’, नेता चन्दले भने,‘वडा सकेर पालिकाहुँदै क्षेत्र र जिल्लामा जाने तयारीमा छौँ।’ एमाले कैलालीले जिल्ला कमिटीको बैठक राखेर चैत १५ गतेसम्म जिल्लाका सबै पालिकासम्म चैत १५ गतेसम्म वडा कमिटी गठन गरेर मतदाताकहाँ पुगिसक्ने कार्यक्रम रहेको उनले बताए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।