Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


मेलेम्ची खानेपानी आयोजनाको मर्मतको काम ६० प्रतिशत सम्पन्न

चैतभित्रै उपत्यकामा पानी वितरण गर्ने लक्ष्य

208
Shares

काठमाडौं । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न भएको छ ।

चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगमा ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत सकेको हो ।

सुरुङमा थुप्रिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको छ । अस्थायी रुपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

चैतभित्र काठमाडौं उपत्यकामा अस्थायी रुपमा भए पनि पानी खसाल्ने उहाँले बताउनुभयो । उहाँका अनुसार गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले त्यसमा थप मर्मत सुरु भएको छ भने बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गरिने छ ।

आगामी चैतसम्म काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी वितरण गर्ने समितिको लक्ष्य रहेको छ । तर, वर्षा लागेपछि फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको पनि कुँवरले बताउनुभयो ।