
रसुवा । चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको सम्भाव्यता अध्ययन सकिएको छ ।
चीनको चिलोङ काउन्टीबाट रसुवागढी नाका हुँदै रातमाटेसम्म निर्माण हुने चार सय केभी प्रसारण लाइनको नेपालतर्फ सम्भाव्यता अध्ययन पूरा भएको हो । अध्ययन अनुसार प्रसारण लाइन निर्माणका लागि १० अर्ब रुपैयाँ लाग्ने छ ।
रातमाटे–रसुवागढी–केरुङ प्रसारण लाइन आयोजनाका अनुसार, वन क्षेत्र तथा निकुञ्ज क्षेत्र गरी दुई वटा रुटबाट अध्ययन गरिएको छ ।
आगामी चैतबाट वातावरणीय अध्ययन मूल्याङ्कन (ईआईए) प्रक्रिया अघि बढाइने आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभयो ।
वन क्षेत्रबाट निर्माण गर्दा प्रसारण लाइनको दूरी ७० किलोमिटर हुने र २१४ वटा टावर निर्माण गर्दा करीब १० अर्ब खर्च लाग्ने छ । यस्तै, निकुञ्ज क्षेत्रबाट निर्माण गर्दा ६५ किलोमिटर लामो रुटमा १७१ वटा टावर निर्माण गर्दा करीब नौ अर्ब खर्च लाग्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
नेपाल तर्फ चार सय केभी डबल सर्किट र चीनतर्फ पाँच सय केभी डबल सर्किट लाइन हुने आयोजनाले जनाएको छ ।
निर्माण सुरु भएको छ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत रहेको आयोजना विकास विभागले अध्ययनको काम गरिरहेको हो ।
प्रतिक्रिया दिनुहोस्