Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


चुनावकेन्द्रित हुँदै प्रमुख दलः जनतासँग जोडिन विभिन्न अभियान


91
Shares

काठमाडौं । प्रमुख राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर विभिन्न अभियान सञ्चालन गर्न थालेका छन्। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेमात्र होइन, अन्य दलहरू पनि चुनावकेन्द्रित कार्यक्रमसहित गाउँ जाने तयारीमा जुटेका हुन्।

कांग्रेसले यही फागुन २९ गतेदेखि स्थानीय चुनावलाई केन्द्रित गरेर एकमहिने अभियान सञ्चालन गर्ने भएको छ। फागुन ३ मा बसेको कार्यसम्पादन समितिको निर्णयअनुसार कांग्रेसले ‘घरघर जाऔं कांग्रेसलाई जिताऔं’ भन्ने नारासहित एकमहिने अभियान सञ्चालन गर्ने तयारी गरेको हो।

सबै जिल्लामा पार्टीका केन्द्रीय सदस्यलाई खटाउने तयारी गरेको कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा उनीहरूलाई प्रशिक्षण दिएको छ। केन्द्रीय प्रतिनिधिलाई जिल्लामा गएर केके गर्नुपर्ने भन्ने निर्देशन पार्टीले दिएको छ। पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पनि अभियानमा परिचालन गर्ने कांग्रेस तयारी छ। केन्द्रीय प्रतिनिधि फागुन २७ गतेभित्र तोकिएका जिल्लामा पुग्नुपर्ने छ। केन्द्रीय प्रतिनिधिलाई आठवटा कार्यसम्पादन गर्न भनिएको जानकारी नेताहरूले दिएका छन्।

यो समाचार आजको नागरिक दैनिकमा छ ।