Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्राधिकरणले इन्टरनेट र केबलको तार पुनः काट्ने


390
Shares

काठमाडौं । इन्टरनेट सेवाप्रदायक र केबल टेलिभिजन कम्पनीहरूले विद्युत प्राधिकरणको पोल प्रयोग गरेबापतको भाडा बुझाउन ढिलाइ गरेको भन्दै प्राधिकरणले फेरि चेतावनी दिएको छ । प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गर्दै अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट तथा केवल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरूलाई तत्काल बक्यौता बुझाउन प्राधिकरणले सोमबार सूचना जारी गरेको छ । प्राधिकरणले सम्झौतामा नआउने, सम्झौता नवीकरण नगर्ने तथा बक्यौता बुझाउन आनाकानी गर्ने कम्पनीहरूको फेरि केबल काट्ने चेतावनी समेत दिएको छ ।

प्राधिकरणले अधिकांश सेवाप्रदायकहरूले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले केबल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूलाई नियमानुसार सम्झौता गर्न तथा नवीकरण गर्न आनाकानी गरेकाले पुनः सूचना जारी गरिएको जानकारी दिए । ती कम्पनीलाई हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्न समेत भनिएको प्रवक्ता भट्टराईले बताए । अब प्राधिकरणले बक्यौता नतिर्ने कम्पनीलाई नियमअनुसारको कानुनी कारबाहीको प्रक्रिया समेत अगाडि बढाउने भएको छ ।

प्राधिकरणले गत असोजमा आफूले निर्धारण गरेको पोल भाडा नबुझाउने तथा सम्झौतामा नआउने कम्पनीका केबल काट्ने अभियान सुरु गरेको थियो । काठमाडौं, चितवनलगायत स्थानमा सांकेतिक रुपमा केही केबल लाइन काटेर दबाबमूलक अभियान सुरु गरे पनि सर्वत्र विरोध भएपछि ऊर्जामन्त्री पम्फा भुसालको अग्रसरतामा रोकिएको थियो । जसअनुसार पोल भाडा विवादलाई दीर्घकालीन समाधान गर्न सञ्चार मन्त्रालयले सहसचिवको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो । यद्यपि, प्राधिकरणले तोकेको भाडा महँगो भएको भन्दै व्यवसायी नबुझाउने अडानमा छन् ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।