काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिगो भविष्यका लागि लैंगिक, जलवायु र स्वास्थ्यबीचको समालोचनात्मक सम्बन्ध रहनुपर्नेमा जोड दिएको छ। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा डब्लुएचओले दक्षिण–पूर्वी एसिया र विश्वव्यापी रूपमा महिला सहभागितालाई प्रवद्र्धन गरेर स्वस्थ र दिगो भविष्यका लागि लैंगिक, जलवायु र स्वास्थ्यबीचको समालोचनात्मक सम्बन्धलाई प्रकाश पारेको हो।
डब्लुएचओकी दक्षिण पूर्वी एसिया निर्देशक पुनम क्षेत्रपाल सिंहका अनुसार जलवायु परिवर्तनका कारण विस्थापित हुनेमा ८० प्रतिशत महिला छन्। त्यस्तै प्राकृतिक प्रकोपबाट पनि पुरुषको तुलनामा महिला धेरै पीडित हुने गरेको जनाइएको छ। विशेषगरी महिलाको सामाजिक, आर्थिक तथा राजनीतिक अवस्था कमजोर भएका मुलुकहरूमा यस्तो हुने गरेको संगठनले जनाएको छ।
सन् २०३० देखि २०५० का बीचमा जलवायु परिवर्तनका कारण विश्वभर वार्षिक २ लाख ५० हजार मानिसको मृत्यु हुने अनुमान गरिएको छ। धेरैजसो मृत्यु कुपोषण, मलेरिया र मानसिक तनावका कारण हुने जनाइएको छ। दक्षिण पूर्वी एसियामा पनि त्यस्ता घटना देखिन थालेको डब्लुएचओले जनाएको छ। त्यसको असर कमजोर आर्थिक अवस्था र पिछडिएको समुदायका महिलामा बढी देखिनेछ। कोरोना महामारीले पनि दिगो विकास लक्ष्य २०३० लाई नकारात्मक असर पारिसकेको र त्यसमा लैंगिक तथा स्वास्थ्य क्षेत्र पनि रहेको डब्लुएचओले जनाएको छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्