काठमाडौं । दाङका १० स्थानीय तह मध्य गत स्थानीय तहको निर्वाचनमा ३ गाउँपालिकामा मात्रै जीत हात पारेको नेपाली कांग्रेसले दुई उपमहानगर र एक नगरपालिकाको नेतृत्व गुमायो। अन्य तीन गाउँपालिकामा पनि हार बेहोर्यो। कांग्रेसले त्यो बेला जिल्लामा आफ्नो बिरासत् गुमेको महसुस गर्यो। कारणस् पछिल्लो संविधानसभा निर्वाचनमा जिल्लाको बहुमत एकलौटी कांग्रेसको पक्षमा देखिएको थियो।
आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस आफ्नो गुमेको बिरासत पुनः आफ्नो पक्षमा पार्न चाहन्छ। फलतः स्थानीय तहको निर्वाचनको तयारीमा यो दल सकृय बनिसकेको छ। जिल्लाका दश वटै स्थानीय तहमा आफ्नो पकड कायम राख्ने योजना मुताबिक कांग्रेस गाउँ केन्द्रित भैसकेको छ। कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगी भन्छन्, ‘चुनाव लक्षीत योजना अनुरुप हामीहरु गाउँ केन्द्रित भैसकेका छौँ।’
त्यसो त कांग्रेसलाई अहिले कम्युनिष्ट पार्टीमा आएको ‘छिन्नभिन्न’ ले पनि जिल्लाको बहुमत आफ्नो पक्षमा पार्ने अवसर पनि छ। तथापी कांग्रेसले यसलाई अवसर मान्दैन। आफ्नै संगठनको मजबुतीलाई उसले जीतको एकमात्रै आधार मानेको छ। फलतः अहिले कांग्रेस चुनाव केन्द्रित अभियान अन्तर्गत संगठन विस्तारमा होमिएको छ। ‘हामीहरु टोल समिति गठनदेखि पार्टीका जिल्ला, क्षेत्रीय, नगरदेखि वडा समितिका बैठकहरु नियमित गरिहेका छौँ,’ कांग्रेस जिल्ला सभापति डाँगीले भने, ‘यी सबै छलफल अनि बैठक तथा टोल समिति गठनको अभियान चुनावी तयारीसंग सम्बन्धित कार्यक्रमहरु हुन्।’ बिहीबार पनि कांग्रेसले जिल्ला स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेर चुनाव केन्द्रित छलफल गरेको छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्