
काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनमा आफ्ना झण्डै ५ सय सैनिक मारिएको बताएको छ । मन्त्रालयले गत बिहीबार सैन्य कारबाही सुरु भएयता ४९८ जना रुसी सैनिक मारिएको बताएको छ ।
त्यस्तै, एक हजार ५९७ सैनिक घाइते भएको मन्त्रालयको भनाइ छ । रुसले पहिलो पटक सैन्य कारबाहीका क्रममा मारिने र घाइते हुने सैनिकको संख्या सार्वजनिक गरेको हो ।
यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब ६ हजार रुसी सैनिक मारिएको दाबी गर्नुभएको थियो ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोले आफ्नो सेनातर्फ ठूलो क्षति भएको भनेर आएको समाचारमा सत्यता नभएको दावी गर्नुभएको थियो । ‘
विशेष सैन्य कारबाही’का क्रममा मारिएका सैनिकका परिवारलाई सबै आवश्यक सहयोग प्रदान गरिने पनि प्रवक्ता कोनाशेन्कोले बताउनुभयो । उहाँका अनुसार रुसी कारबाहीमा दुई हजार ८७० जना युक्रेनी सैनिक मारिएका र तीन हजार ७०० जना घाइते भएका छन् । तर यसबारे युक्रेनका अधिकारीले कुनै प्रतिक्रिया दिएका छैनन् भने युक्रेनी सेनातर्फ भएको भनेर रुसले दिएको विवरण हालसम्म पुष्टि हुन सकेको छैन ।
राष्ट्र संघको मानव अधिकार कार्यालयले २२७ जना सर्वसाधारणको ज्यान गएको र ५२५ जनाको मृत्यु भएको बताएको छ ।
यता, शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले १० लाख युक्रेनीले देश छाडेर छिमेकी मुलुक गएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्