नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)
बाँके, फागुन २० । आज ‘वर्ल्ड वाइडलाइफ डे’ । सन् २०१३ मा संयुक्त राष्ट्रसंघको ६८ सेसनले मार्च ३ लाई यो दिवस मनाउने घोषणा गरेको हो ।
विश्वभर यो दिवस मनाइरहँदा नेपालको पश्चिम क्षेत्रमा रहेको सबभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्जमा भने वन्यजन्तुको संरक्षण उल्लेख्य मात्रामा भएको छ ।
राणाकालमा बाघ सिकारका लागि प्रख्यात बाँकेको यो जंगल क्षेत्रलाई वि.सं. २०६७ सालमा निकुञ्जमा परिणत गरिएको थियो ।
जैविक विविधता, दुर्लभ पाटेबाघ र चुरे संरक्षणको उद्देश्यसहित बाँके राष्ट्रिय निकुञ्ज स्थापना गर्दा यहाँ जम्मा चारओटा पाटेबाघ थिए ।
तर, १० वर्ष नपुग्दै यस निकुञ्जमा बाघको संख्यामा उल्लेख्य वृद्धि भइ २१ ओटा वयस्क बाघ पुगेका छन् ।
‘पृथ्वीलाई उपहार’को उपमा पाएको यो निकुञ्ज ५५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
दक्षिणमा कम्दी जैविकमार्ग हुँदै भारतसम्म फैलिएको निकुञ्जमा ८ प्रकारका पारिस्थितिकीय प्रणाली, ६ प्रकारका वन र २६३ प्रजातिका वनस्पति रहेका छन् ।
बाघ र बाघको आहार प्रजाति चौका उल्लेखीयरुपमा रहेका छन् । साथै, हात्ती, चित्तल, बँदेललगायतका वन्यजन्तुको बासस्थान पनि हो, यो स्थान ।
यहाँ वन्यजन्तुको संरक्षण हुनु र चोरी–सिकारी कम हुनु संरक्षणका लागि कोसेढुंगा मानिएको छ ।
निकुञ्ज संरक्षणमा नेपाली सेनाको श्रीमेहर गण खटिएको छ । गणका प्रमुख जीवन शर्माले निकुञ्जको सुरक्षा नेपालकै मोडालिटी थ्री पिलर सेना, निकुञ्ज कार्यालय र स्थानीय बासिन्दा मिलेर भइरहेको बताए ।
विभिन्न स्थानमाहरुमा सेक्टर कार्यालय, रेञ्जपोस्ट, पोस्ट, हात्तीसार र राजमार्गमासमेत सुरक्षा पोस्ट राखिएको छ ।
रात–दिन पैदल, साइकल र गाडीबाट गस्ती हुनुका साथै आधुनिक प्रविधिबाट चोरी–निकासीमा निगरानीसमेत हुने गरेको छ ।
गेम स्काउट ईश्वरीप्रसाद पन्थी नियमित गस्ती र स्थानीयमा प्रकृति संरक्षणमा जनचेतना बढेकाले पनि संरक्षण सजिलो भएको बताउँछन् ।
वन्यजन्तु संरक्षण, बासस्थान व्यवस्थापन र वन्यजन्तुको संख्या वृद्धि गर्न सके संरक्षणमा यो निकुञ्जलाई विश्वकै नमुनाको रुपमा विकास गर्न सकिने सम्भावना बढेको छ ।









प्रतिक्रिया दिनुहोस्