काठमाडौं । फौजदारी अभियोग लागेपछि सांसद पदबाट निलम्बित व्यक्तिहरू राजनीतिक दलमा भने महत्वपूर्ण पदमा छन्।भ्रष्टाचार र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कानुनी रुपमा अभियुक्त भए पनि पार्टीभित्र भने उनीहरू महत्वपूर्ण भूमिकासहित सक्रिय छन्। संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाका कुल २७५ सांसदमध्ये ४ जना निलम्बनमा छन्। जसमा नेपाली कांग्रेसका २, जनता समाजवादी पार्टी र जसपाका एकएकजना छन्। सांसद पदबाट निलम्बन भए पनि उनीहरू आआफ्नो पार्टीभित्र पदमा कायमै छन्।
ललिता निवासको जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचारको मुद्दामा मुछिएका विजयकुमार गच्छदार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति पदमा उठेका थिए। चुनावमा हारेपछि उनी सदस्य पदमा मनोनीत भए। भ्रष्टाचारको अभियोग लागेका गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
२०७६ माघ २२ मा भ्रष्टाचार मुद्दा दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका थिए। भ्रष्टाचार मुद्दाका अभियुक्त गच्छदारलाई पार्टीले कहिल्यै कारबाही गरेन। उल्टै उनलाई उपसभापति पदमा लड्नका लागि अनुमति दियो।गच्छदारविरुद्ध ९ करोड ६५ लाख ३६ हजार बिगो मागदाबीसहित मुद्दा दर्ता भएको छ। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्। उनी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार मुद्दा दर्ता भएपछि स्वतः निलम्बित भएको संसद् सचिवालयले सूचना निकालेर जानकारी गराएको थियो।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्