काठमाडौं, फागुन १९ । सरकारले आउँदो चैत २० देखि २२ गतेसम्म गर्ने भनेको ‘सगरमाथा संवाद’ कार्यक्रम स्थगित गरेको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी ‘कोरोनाभाइरस’का कारण विश्वव्यापी जोखिम बढ्दै गएका कारण केही समयका लागि संवाद स्थगित गरिएको जनाएको हो ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै पछि कार्यक्रम गर्नेगरी स्थगित गरिएको बताए ।
सगरमाथा संवादका लागि २० देशका राजनीतिज्ञ र ३० ओटा संघ–संस्था, अनुसन्धानकर्ता विश्वविद्यालय, युएन एजेन्सीहरुको सहभागिता रहने जनाइएको थियो ।
तर, मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलनमा यो विषय लानेगरी पुनः तयारी गरिने बताए ।
कोरोनाभाइरसले विश्वव्यापी जोखिम बढाएको र नेपालको राष्ट्रिय गौरवका आयोजना तथा अर्थतन्त्रमा नै असर देखिन थालेको पनि मन्त्री ज्ञवालीले बताए ।
अत्यावश्यकबाहेक विदेश भ्रमणमा नजान आग्रह
कोरोना संक्रमित पाँचओटा देशबाट नेपाल आउनेहरुलाई आगमनमै दिइने भिसा रोकिएको भन्दै मन्त्री ज्ञवालीले अत्यावश्यकबाहेक रोजगारी, पढाइ वा घुमघामका लागि विदेश नजानसमेत आग्रह गरिएको जानकारी दिए ।
बाहिरबाट नेपाल आउनेहरुले अब अनिवार्यरुपमा ‘हेल्थ कार्ड’ भर्नुपर्ने र उनीहरु आफ्नो घरमा नै ‘क्वारेन्टाइन’मा बस्नुपर्ने, ठूला सभा–समारोह नगर्न र मास्क र ‘सेनिटाइजर’को उत्पादन बढाउनसमेत सरकारले आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्