Logo ४ असार २०८३, बिहिबार | Fri Jun 19 2026


डेढ रोपनी जग्गा बालकुमारी रिमिक्सको कब्जामा

गुठीको जग्गा अनधिकृत प्रयोग गर्ने क्लबका अध्यक्ष ‘जनप्रतिनिधि’

247
Shares

ललितपुर । ललितपुरको प्रसिद्ध बालकुमारी मन्दिर सँगैको करोडौं मूल्य पर्ने गुठीको जग्गा बालकुमारी रिमिक्स क्लबले कब्जा गरेको छ । ललितपुर महानगरपालिका–८ कित्ता नं ९७ को क्षेत्रफल १ रोपनी १० आना २ पैसामध्ये करिब १ रोपनी क्षेत्रफल जग्गामा गुठीको स्वीकृतिबेगर अस्थायी टहरा बनाई २०७१ सालदेखि क्लबले आगटेको थियो । क्लबकै अगुवाइमा अहिले पश्चिमतर्फ (बालकुमारी मन्दिर छेउको बाटो हुँदै चक्रपथ जाने बाटोतर्फ) बाँकी रहेको करिब ६ आना जग्गामा पिलरसहितको करिब लम्बाइ ५२ फिट र चौडाइ १८ फिटको भौतिक संरचना निर्माण भइरहेको छ ।

गुठी संस्थान जग्गा धनी, गुठी तैनाथी र बालकुमारी गुठी उल्लेख भई तैनाथी लालपुर्जा रहेको सो जग्गामा अनधिकृत रूपले प्रयोग र भौतिक संरचना बनाउने कामको अगुवाइ ललितपुर वडा–७ का अध्यक्ष कुलबहादुर महर्जनले गरेका छन् । वडाअध्यक्ष महर्जन क्लबको पनि अध्यक्ष हुनुहुन्छ । वडाअध्यक्ष महर्जनकै प्रयासमा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनको तोक आदेशमा भइपरी बजेटबाट २० लाख रुपियाँ क्लबलाई दिने निर्णय गरिएको थियो । सोही रकमबाट अहिले अनधिकृत रूपमा संरचना निर्माण भइरहेको बुझिएको छ ।

‘गुठीको जग्गा संरक्षण गर्नुपर्ने दायित्व बोकेका जिम्मेवार व्यक्तिहरूबाटै नै गुठीको जग्गा अतिक्रमण गर्न थालेपछि संरक्षण कसरी हुन्छ ?’ गुठी संस्थान ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले भन्नुभयो– ‘अहिले निर्माण भइरहेको संरचनालाई तुरुन्तै रोक्न सबैतिरबाट प्रयास गर्नुपर्ने आवश्यक छ ।’ संस्थानले त्यहाँ बनाइएका स्थायी संरचना निर्माण कार्यलाई रोक्नेसँगै क्लबले ओगट्दै आएको ठूलो टहरा पनि भत्काउनेतिर लाग्नुपर्ने सुवेदीको भनाइ रहेको छ ।

भौतिक संरचना बनाउन महानगरपालिकाले विनियोजित गरेको रकमको बाँकी किस्ता निकासा रोक्न पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पत्राचार गर्ने पनि प्रमुख सुवेदीले बताउनुभयो । ‘अनधिकृत रूपमा भौतिक संरचना बनाउन महानगरपालिकाले कसरी प्रक्रिया अघि बढाएको हो त्यो पनि आश्चर्य चकित नै छ’ –सुवेदीले भन्नुभयो ।

नेपाल समाचारपत्र