Logo २ कार्तिक २०८२, आइतबार | Mon Oct 20 2025


सामाजिक सञ्जालमा आफूखुसी मेयरको उम्मेदवारी घोषणा नगर्न कांग्रेसको आग्रह


468
Shares

पोखरा, फागुन १० । स्थानीय तहको निर्वाचनमा सामाजिक सञ्जालबाट आफूखुसी मेयरका लागि उम्मेदवारी घोषणा नगर्न नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्य समितिले आग्रह गरेको छ ।

पार्टीको गरिमामा आँच नपुगोस् भन्ने तर्फ सजक हुन आग्रह गर्दै महानगर कार्य समितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बाँस्तोलाले मंगलबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै कांग्रेसका तर्फबाट पोखरा महानगरमा आगामी मेयर पदका लागि उम्मेदवारमा आकांक्षी बढेका छन् । कतिपय कार्यकर्ता मार्फत नाम सार्वजनिक गराएका छन् भने कोहीले सामाजिक सञ्जालमार्फत स्वघोषणा गरेका छन् ।

त्यसतर्फ ध्यानाकर्षण गराउँदै महानगर कार्य समितिले कांग्रेसको विधान २०१७ तथा नवौं संसोधन २०७५ तर्फ कार्यकर्तालाई इंगित गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको सम्बन्धित समितिको सिफारिसमा केन्द्रीय कार्यसमितिले उम्मेद्वारको अन्तिम टुंगो नलाग्दासम्म कसैले पनि नेपाली कांग्रेस पार्टीको नामसँग जोडेर कुनै पनि पदको लागि सामाजिक सञ्जाल तथा समाचारमार्फत उम्मेदवारी घोषणा गर्न गराउन नगर्न नगराउन हुन पोखरा महानगरपालिका कार्यसमिति अनुरोध गर्दछ ।’