Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मन्त्री एमसीसीको पक्षमा,अरू विरोधमा


208
Shares

काठमाडौं । सरकारले संसद्मा टेबल गराएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धनमा आबद्ध दलले नै द्वैध चरित्र देखाउँदै आएका छन् ।सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बालुबाटारमा बसेको शीर्ष बैठकमा एमसीसी टेबल गर्ने सहमति गरेका थिए । सोही सहमतिअनुसार नै सरकारले एमसीसीसम्बन्धी प्रस्तावलाई सभामुखमार्फत् संसद्को कार्यसूचीमा राख्न लगाएर संसद्मा टेबल गरेको थियो ।

तर, ती दुबै दलले संसद्मा टेबल भइसकेको एमसीसीका विषयमा पुनः असहमति राख्दै पास हुनै नदिने अडान राख्दै आइरहेका छन् । एमसीसीका विषले यी दुवै दलभित्रको कलहसमेत बढेको छ ।गठबन्धन आबद्ध एक शीर्ष नेताका अनुसार दुवै दलबाट सरकारमा सहभागी मन्त्रीहरू एमसीसीका पक्षमा पार्टी उभिनुपर्ने भन्दै लबिङमा छन् । तर, सरकारमा मन्त्री नभएकाहरू भने एमसीसी खोइरो खन्दै विरोध गरिरहेका छन् ।

‘सरकारमा मन्त्री बनेका धेरै नेताहरू एमसीसीको पक्षमा छन्, मन्त्री बन्न नपाएकाहरू एमसीसीको विरोधमा छन्, माओवादी केन्द्रकाभन्दा नेकपा एसका मन्त्रीहरूको जोडबल एमसीसीका पक्षमा छ,’ गठबन्धन आबद्ध दलका ती नेताले राजधानीसँग भने ।सरकारमामन्त्री रहेकी नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको धारणा नै सरकारमा रहुन्जेल आफ्नो धारणा हुने भन्दै एमसीसीमा कूटनीतिक भाषामार्फत समर्थन जनाउँदै आएकी छन् ।

मन्त्री झाँक्रीले ‘तपाईँको पार्टीको निर्णय एमसीसीका विरुद्धमा हो रु’ भन्ने प्रश्नमा राजधानीसँग भनिन्, ‘पार्टीले निर्णय गर्दै गर्छ ।’यसैगरी, नेकपा एसबाटै सरकारमा मन्त्री रहेका प्रेम आले, मन्त्री किसन श्रेष्ठ र विरोध खतिवडासमेत एमसीसीका पक्षमा छन् । स्रोतका अनुसार नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मासमेत एमसीसीको विपक्षमा छैनन् । तर, पार्टीभित्रको आन्तरिक समस्याका कारण उनी खुलेका छैनन् । आइतबार संसद्मा एमसीसी टेबल गर्दा उनको साटो सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेका थिए ।

राजधानी