काठमाडौं । ललितपुरकी जानकी शाक्य बुधबार बिहान सिंहदरबार वैद्यखानाअगाडि बिक्री काउन्टर खुल्ने समय पर्खेर बसेकी थिइन् । वैद्यखानाका कर्मचारी आएपछि उनले औषधिको पर्चा देखाइन्, तर कविराज आदित्य ठाकुरले औषधि सकिएको भन्दै अन्तबाट किन्न भनेर फर्काइदिए । मिर्गौलाको पत्थरीका कारण उनले लामो समयदेखि वैद्यखानाको आयुर्वेदिक औषधि सेवन गर्दै आएकी थिइन् ।
केही महिनायता सिंहदरबार वैद्यखाना पुग्ने करिब ७० प्रतिशतभन्दा बढी ग्राहक निराश भएर फर्किन बाध्य छन् । एक सय ५० भन्दा धेरै थरी औषधि उत्पादन गर्ने वैद्यखाना अहिले ११ औषधिमा सीमित भएको छ । भरपर्दो र गुणस्तरीय आयुर्वेदिक औषधि पाइने बिक्री काउन्टरमा च्यावनप्रास र अन्य केही चूर्णबाहेक औषधि उपलब्ध छैनन् ।
‘औषधि उत्पादन नै छैन । दैनिक २५–३० जना ग्राहक आइपुग्छन्, तर खोजेको औषधि नहुँदा २० जनाजति खाली हात फर्किनुपरेको छ । नियमित औषधि खाइरहेका बिरामीलाई समेत अन्यन्त्र पठाउनुपर्ने अवस्था छ,’ दुई दशकदेखि वैद्यखानामा औषधि बेच्दै आएका कविराज ठाकुरले भने, ‘विगतमा दैनिक एक लाखभन्दा बढीको औषधि बिक्री हुन्थ्यो, अहिले २० हजारको कारोबार हुन पनि मुस्किल छ ।’
देशकै सरकारी स्वामित्वको एक मात्र आयुर्वेदिक औषधि उत्पादक ‘सिंहदरबार वैद्यखाना’मा औषधि अभाव छ । औषधिको उच्च माग रहेको कोभिड महामारीकै समयमा व्यवस्थापकीय कमजोरीले उत्पादन कम भएको छ ।










प्रतिक्रिया दिनुहोस्