Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रहरी भर्नामा शारीरिक तन्दुरुस्तीको अस्पष्ट मापदण्ड, तालिम केन्द्रअनुसार तजबिजी निर्णय


1.1k
Shares

काठमाडौं । सातै प्रदेशमा यतिवेला नेपाल प्रहरीको करिब दुई हजार जवानको भर्ना प्रक्रिया चलिरहेको छ । भर्ना प्रक्रियामा लिइने पहिलो परीक्षा ‘प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती’को हो । तर, यसको नतिजाको तथ्यांक निकै विरोधाभासपूर्ण छ पोखरास्थित तालिम केन्द्रमा परीक्षामा सहभागीमध्ये करिब ६४ प्रतिशत उत्तीर्ण भएका छन् जब कि विराटनगर र जनकपुरमा परीक्षार्थीमध्ये करिब ३० प्रतिशत मात्र उत्तीर्ण भएका छन् । एउटै मापदण्डका आधारमा हुने भर्नामा भिन्नता किन ? किनकि प्रहरी भर्नाको शारीरिक तन्दुरुस्तीको परीक्षामा मापनयोग्य र वस्तुगत मापदण्ड छैन, तजबिजीका आधारमा प्रहरीले निर्णय गर्ने भएकाले तालिम केन्द्रअनुसार उत्तीर्णदरमा ठूलो भिन्नता देखिएको हो ।

देशभरका तालिम केन्द्रहरूबाट प्राप्त विवरणअनुसार पोखरा र दिपायलमा उत्तीर्णदर उच्च छ भने विराटनगर र जनकपुरमा निकै कम छ । १ फागनुसम्मको विवरणअनुसार पोखरा तालिम केन्द्रमा परीक्षामा सहभागीमध्ये ६३.७० तथा दिपायलमा ६१.८४ प्रतिशत उत्तीर्ण भएका छन् । जब कि जनकपुरमा ३०.५१ र विराटनगर तालिम केन्द्रमा ३०.७७ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । त्यस्तै, दुधौली तालिम केन्द्रमा उत्तीर्ण प्रतिशत ५१.२६, बुटवलमा ५५.८७, नेपालगन्जमा ४२.७२ र काठमाडौंमा ४९.२१ छ ।

भर्नामा एउटै मापदण्ड भए पनि यसरी उत्तीर्ण प्रतिशतमा ठूलो भिन्नता हुनुको कारण आफूअनुकूल व्याख्या र कार्यान्वयन हो । मापदण्ड वस्तुगत नहुँदा प्रहरी अधिकारीले तजबिजीका आधारमा भर्ना प्रक्रियामा पास र फेलको निर्णय गर्दै आएका छन् । कुनै तालिम केन्द्रमा सामान्य कमजोरी हुँदा पनि अनुत्तीर्ण हुने गरेका छन् भने अर्को तालिम केन्द्रका परीक्षार्थी भने ठूलै कमजोरी हुँदा पनि उत्तीर्ण हुने अवस्था छ । यसले प्रहरी भर्नामा रहेको बेथिति देखाउँछ ।

प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षामा उचाइ, छातीको चौडाइलगायत प्रावधान प्रहरी नियमावलीमै प्रस्ट भएकाले त्यसमा विवाद छैन । तर, भर्नामा शारीरिक तन्दुरुस्तीका अन्य विषयमा एक सामान्य मापदण्डका आधारमा तय गरिएको छ । जुन मापनयोग्य छैन । ‘बियरिङ टेस्ट’सम्बन्धी २० बुँदे मापदण्डको पहिलो नम्बरमा अंगभंग-कुरूप देखिने हुन नहुने उल्लेख छ । तर, कुरूपको व्याख्या छैन ।

नयाँ पत्रका