Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


‘नयाँ शैक्षिकसत्र वैशाखमा असम्भव’


208
Shares

काठमाडौं । सरकारले नयाँ शैक्षिकसत्र वैशाखमै शुरू गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन् । उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा शुरू गर्नुपर्नेमा जोड दिएका छन् ।

महासंघका अध्यक्ष शुप्रभात भण्डारीले करिब १ सय २० दिन मात्रै पढाइ गरेर परीक्षा लिँदा पढाइमा गुणस्तर आउन नसक्ने भन्दै चैत महिनाभरि पढाएर वैशाखमा परीक्षा लिने र जेठमा मात्र नयाँ शैक्षिक सत्र शुरू गर्नु उपयुक्त हुने बताउनुभयो । उहाँले भन्नुभयो–‘फागुनदेखि शैक्षिकसत्र शुरू भएका कर्णालीमा त अहिलेसम्म दोस्रो त्रैमासिक परीक्षा हुन सकेको छैन भने कसरी वैशाखमै नयाँ शैक्षिकसत्र हुनसक्छ ?’ गत वर्षको शैक्षिकसत्र असारमा शुरू भएको जिकिर गर्दै उहाँले २०८० सालदेखि मात्रै वैशाखमै शुरू गर्नु उपयुक्त हने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार १ सय ८० दिन अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था उल्लंघन गर्दै भौतिक रूपमा करिब ९० दिनमात्रै पढाइ भएको अवस्थामा परीक्षा लिनु कानुनी अपराध ठहरिन्छ ।

उहाँले विद्यालय खुलिसकेको अवस्थामा चैतसम्म पूरै पढाई गर्ने र वैशाखमा परीक्षा दिएर भर्नाको तयारी गरी जेठबाट शैक्षिकसत्र शुरू गर्नु उपयुक्त हुने बताउनुभयो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले पनि वैशाखमा परीक्षा सकेर भर्ना प्रक्रिया शुरू गर्ने र जेठ १ गतेबाट मात्रै शैक्षिकसत्र शुरू गर्नु उचित हुने बताइसक्नु भएको छ । यो वर्ष निर्वाचन भएका कारण वैशाखमै शैक्षिकसत्र शुरू गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताउँदै उहाँले भन्नुभयो–‘नयाँ शैक्षिकसत्रको मिति घोषणा गर्नुअघि सकोकारवालासँग छलफल गर्नेछौँ ।’

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले शैक्षिकसत्रको विषयमा भोलि बिहीबार बैठकमा छलफल गरेर मन्त्रालयलाई सिफारिस गर्ने जानकारी दिनुभयो । अनलाइन कक्षा सञ्चालन गर्दा प्रभावकारी नभएको गुनासो आइरहेको अवस्थामा सरकारले लोकप्रिय हुनकै लागि वैशाखमा शैक्षिकसत्र शुरू गर्ने तयारी गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वैशाखमै निर्वाचन भएकाले सोही महिनामा नयाँ शैक्षिकसत्र शुरू गर्ने कि नगर्ने भन्ने विषयमा परामर्श शुरू गर्नुभएको छ ।

नेपाल समाचारपत्र