Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


क्यान्सरको औषधि नेपालमै उत्पादन


2k
Shares

काठमाडौं । क्यान्सरका बिरामीलाई खुसीको खबर  ! यो रोगको औषधि नेपालमै बनेको छ। औषधिको खोलमा लेखिएको छ, ‘मेड इन नेपाल।’यसको उत्पादन गरी बजारमा पठाउने नेपालकै पहिलो कम्पनी भएको छ, टिजिङ फर्मा प्रालि। फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यले अहिले बजारमा जाने उत्पादन ट्याब्लेट र क्याप्सुलको बनोटमा रहेको बताए। ‘इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने योजना छ’, कार्यकारी निर्देशक वैद्यले भने, ‘अहिले मुखबाट खान मिल्ने औषधि अर्थात ट्याब्लेट र क्याप्सुल बनोटमा छ। केही समयपछि इन्जेक्सन स्वरूपमा पनि जानेछौं।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्ज्वल पाण्डेले स्वदेशमै क्यान्सरको औषधि उत्पादन हुनु गौरवको विषय भएको बताए। यसले बिरामीमा राहत पुग्ने विश्वास विशेषज्ञले व्यक्त गरेका छन्। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। एमके पियाले भने, ‘पहिला विदेशमै उत्पादित औषधि पनि पर्याप्त पाइँदैनथ्यो। अहिले स्वदेशमै क्यान्सर रोगविरुद्धको औषधि उत्पादन हुनु खुसीको विषय हो। गुणस्तरमा ध्यान दिंँदै सर्वसाधारणको पहुँचमा पुर्‍याउनुपर्छ। ’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अङकोलोजिष्ट डा। अरुण शाहीले गुणस्तर र औषधिको मूल्य सर्वसुलभ गराउनुपर्ने बताए। भने, ‘औषधि कम्पनीलाई सहुलियत दिएर भए पनि स्वदेशी उद्योगलाई प्रात्साहित गर्नुपर्छ। औषधि उद्योगले पनि आर्थिक रूपमा विपन्नवर्गको पहुँच पुग्ने गरी सर्वसुलभ बनाउनुपर्छ।’

मूल्य केही न केही सस्तो आयातित औषधिको तुलनामा स्वदेशकै उत्पादन केही सस्तो हुने पनि कार्यकारी निर्देशक वैद्यले बताए। ‘हामीले उत्पादन गरेका औषधि पनि यस अघिसम्म नेपाली बिरामीले विदेशबाटै ल्याएर खानुपर्ने बाध्यता थियो। अब त्यो बाध्यता हट्नेछ’, वैद्यले भने, ‘उही औषधि स्वदेशमै उत्पादन हुँदा बिरामीलाई केही सहुलियत अवश्य दिनेछौं।’ स्वदेशमा उत्पादन हुने भएपछि औषधिको नियमितता तथा उपलब्धतासमेत हुने उनले बताए।

अन्नपूर्ण पोष्ट

Skip This