काठमाडौं । सत्ता–सहयात्री माओवादी र एकीकृत समाजवादीले विपक्षमा उभिने स्पष्ट पारे पनि प्रधानमन्त्री शेरबहादुर देउवा संसद्बाट एमसीसी सजिलै पास हुनेमा विश्वस्त छन् । सरकारले बुधबार बस्ने संसद् बैठकमा एससीसी टेबुल गर्ने योजना बनाएको छ । सभामुख अग्नि सापकोटाबाट कुनै अवरोध नहुनेमा प्रधानमन्त्री देउवा ढुक्क छन् । किनभने, सरकारले ल्याएका ‘बिजनेस’मा सभामुखले रोकटोक गर्न सक्ने व्यवस्था छैन ।
सोमबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाको भनाइ थियो, ‘एमसीसीलाई जो सरकारमा आए, उहाँहरूले नै निरन्तरता दिएको हो । यो नयाँ होइन । अब यसलाई ‘सेफल्यान्डिङ’ गर्नुपर्छ । सदनमा पेस गरेर त्यहीँ वारपार गरौँ । त्यसका लागि वातावरण बनाउन प्रतिपक्ष मनाउन मैले पनि पहल गरिरहेको छु ।’
संसद्मा उपस्थित सदस्य संख्याको बहुमतले एमसीसी पास गर्न सक्छ । ९८ सिट रहेको एमालेले समर्थन गरे प्रस्ताव सजिलै पास हुन्छ । किनकि कांग्रेससँग ६१ सांसद छन् । निर्णय प्रक्रिया हुँदा माओवादी र एकीकृत समाजवादीका सांसदले बैठक बहिष्कार गर्ने र एमालेका केही सांसद मात्रै बैठकमा उपस्थित हुने प्रधानमन्त्री देउवाको बुझाइ छ ।
एमालेका सबै सांसद बैठकमा उपस्थित भएर विपक्षमा उभिँदा वा तटस्थ बस्दा बहुमत नपुग्ने हुन्छ । त्यसैले, एमालेले थोरै सांसदलाई मात्र बैठकमा उपस्थित गराएर प्रस्ताव पारित गराउन सहयोगी भूमिका खेल्ने देउवाको विश्वास छ । यस्तो अवस्थामा कांग्रेसलाई जसपा (१९) र लोसपा(१३)ले साथ दिँदा एमसीसी पास हुने देखिन्छ ।










प्रतिक्रिया दिनुहोस्