विराटनगर । यात्रु लिएर काठमाडौंका लागि उडे पनि फर्काएर विराटनगर विमानस्थलमै ल्याइएको गुण एयरलाइन्सको जहाजमा लाटोकोसेरो ठोक्किएको पुष्टि भएको छ। धावनमार्ग छाड्ने क्रममा लाटोकोसेरो ठोक्किएपछि ३० सिटे जहाजलाई आइतबार साँझ विराटनगर फर्काइएको थियो।विमानस्थल प्रमुख उत्सवराज खरेलका अनुसार लगभग साँझ ६स्३० बजेतिर उडेको जहाज लाटोकोसेरो ठोक्किएपछि गन्तव्यसम्म पुग्न सकेन। लगभग ५ मिनेटजति उडेपछि पुनः फर्काएर चालक दलका सदस्यले जाहाजलाई सुरक्षित साथ अवतरण गराए। ७२४ उडान नम्बर रहेको जहाजमा ३० जना यात्रु र ३ जना चालक दलका सदस्यसहित ३३ जना रहेको खरेलले बताए।
उनीहरु सबै सकुशल छन्। जहाजमा पनि ठूलो क्षति पुगेको देखिएको छैन। लाटोकोसेरो भने मरेको छ।खरेलका अनुसार धावनमार्ग छाड्न साथ जहाजको देव्रेतर्फको इन्जिनको भाग आवश्यकताभन्दा बढी तात्न थालेको खुलेको छ। ‘इन्जिन’ ‘हिट’ हुन थालेको पत्ता लगाएर जहाजलाई फर्काएर ‘ल्यान्ड’ गराउन चालक दलका सदस्य सफल हुँदा ठूलो दुर्घटना हुन पाएन,’ उनले भने, ‘३३ जनाको ज्यान बाँचेको छ।’
जहाज अवतरण गराएर यात्रुहरुलाई ढोकाबाटै सुरक्षित साथ निकालिएको छ। प्रत्यक्षदर्शीका अनुसार उनीहरु निक्कै डराएको र त्रसित अवस्था देखिन्थे। खरेललका अनुसार जहाजलाई विराटनगरमै ‘नाइट स्टप’ गरिएको छ। काठमाडौंबाट सोमबार आएर इन्जिनियरले समस्या पत्ता लगाएपछि आवश्यक मर्मत गरेरमात्रै जहाज पुनः सञ्चालन गरिने भएको छ। ‘समस्या पत्ता लगाएर मर्मत गरेपछि मात्रै काठमाडौं पठाउन मिल्छ,’ खरेलले भने, ‘त्यसअघिसम्म जहाज विराटनगरमै रहन्छ।’
गुण एयरलाइन्सका स्टेशन मेनेजर धर्म गिरीले जहाजमा चरा ठोक्किएको पुष्टि गरे। तर आफू कार्यालयभन्दा बाहिर रहेकाले थप जानकारी नभएको उनले बताए। यति एयरलाइन्सले विगतमा सञ्चालन गरेको ‘जेड स्किम’ यो जहाजले दिनमा काठमाडौं(विराटनगर एउटा उडान भर्दै आएको छ।विमानस्थलबाट दक्षिण(पश्चिका बासिन्दा रवि मण्डलले धावन मार्ग छाड्नसाथ उचाई लिने क्रममा जहाजले अनौठो आवाज दिएको आफूहरुले प्रत्यक्ष सुनेको र देखेको बताए। ‘धावनमार्ग छाड्दा जहाजले विगतभन्दा भिन्न आवाज दिएको सुन्यौं,’ उनले भने, ‘आकाशमा देखुनजेल हेरिरहयौँ।’ मण्डलले चर्को र नयाँ खालको आजाव दिँदै जहाज केही बेरमै विराटनगर नै फर्किएको पनि बताए। उनले भने, ‘जहाजमा केही समस्या आएको त अनुमान लगायौं। त्यसपछि के भएको होला भनेर मनमा खुलदुली हुन थाल्यो।
अन्नपूर्ण










प्रतिक्रिया दिनुहोस्