काठमाडौं । कांग्रेस नेता डा। शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसद्मा परीक्षण गर्नुपर्ने बताएका छन्।कांग्रेस कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा कोइरालाले भने, ‘अब एमसिसी सहयोग र अनुदानमा मात्रै सीमित रहेन। यो विषय निकै माथि उठिसक्यो। यसप्रति हामी निकै गम्भीर बन्नुपर्ने परिस्थिति छ।यो परियोजनासँगै हाम्रो कूटनीतिक कौशल र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ।’ नेपालको विकासका लागि आएको अनुदानलाई विभिन्न रङ दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि भएको उनको टिप्पणी छ।
एमसीसीलाई सम्भव भए राजनीतिक दलहरूबीचको सहमतिबाट, नभए सार्वभौम संसद्मा संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्नेमा उनको जोड थियो। ‘एमसिसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसद्को क्षमतामाथि नै गम्भीर प्रश्न तेर्सिने देख्दैछु’, कोइरालाले भने। बैठकमा बोल्ने सबैजसो नेताले एमसिसीलाई अब संसदीय प्रक्रियाबाट अघि बढाउनुपर्ने धारणा राखेका छन्। संसद्बाट एमसिसी पारित गर्न सबै विकल्प खुला राख्दै सबै दलसँग छलफल अघि बढाउनुपर्ने धारणा उनीहरूको छ। बैठकमा प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले पनि आआफ्नो धारणा राखेका थिए।
एमसीसीका विषयमा कार्यसम्पादन समितिमा विभिन्न धारणा आएको जानकारी दिँदै पार्टी प्रवक्ता प्रकाशशरण महतले भने, ‘एमसिसीबारे हाम्रो पार्टीमा सहमति छ। एमसिसी पास गर्न कांग्रेसले सबै दललाई सहभागी गराउने प्रयास गरिरहेको छ। यो हाम्रै प्राथमिकता हो।’ कार्यसम्पादन समितिको अर्को बैठक आइतबार २ बजे बस्नेछ।
चुनावमा गठबन्धन नगर्न जोड :
बैठकमा नेता कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने दोहोर्याउँदै कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा जानुपर्ने धारणा राखे। पार्टीभित्रका सानातिना समस्या, आपसी रिसराग, मनमुटाव र असन्तुष्टिभन्दा माथि उठेर एकढिक्का हुँदै चुनावी अभियानमा लाग्नुको विकल्प नभएको उनले बताए।
नागरिक शनिबार










प्रतिक्रिया दिनुहोस्