Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


एमसीसी अनुमोदन नभए नेपाल नीति पुनर्विचार गर्ने अमेरिकी चेतावनी


2k
Shares

काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता फागुन १६ भित्र अनुमोदन गर्न र नगरे नेपाल नीति पुनर्विचार गर्ने चेतावनी दिएको छ । अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार बिहान नेपालका प्रमुख तीन दलका तीन नेतालाई फोन गरेर सम्झौता अनुमोदन गर्न ‘अन्तिम’ आग्रह गरेका हुन् ।

सहायकमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पालैपालो फोन गरेका थिए । उनले प्रधानमन्त्री देउवालाई एमसीसी सम्झौतामा भइरहेको प्रगतिबारे जिज्ञासा राखेका थिए । ‘सरकार प्रतिबद्ध छ, हाम्रो पार्टीमा अनुमोदन गर्नेबारे समस्या छैन,’ देउवाको भनाइ उद्धृत गर्दै बालुवाटारका एक अधिकारीले भने, ‘सत्ता गठबन्धन दलहरूबीच पनि सहमतिको प्रयास भइरहेको छ, यसबारे हामी छिट्टै सकारात्मक निष्कर्षमा पुग्दै छौं ।’

प्रमुख प्रतिपक्षी नेता तथा एमाले अध्यक्ष ओलीलाई फोन गर्दै लुले ‘अनुमोदन नभए राम्रो नहुने’ चेतावनी दिएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताए । ‘एमसीसी पारित गर्नुपर्छ, तपाईंहरूले सहयोग गर्नुहोस् । पारित नगरे राम्रो हुन्न । किनकि हामीले तपाईंहरूसँगको सहमतिमा अगाडि बढाएको परियोजना हो । यस विषयमा यताउति नभई तपाईंहरूको सहयोग चाहियो भन्ने उहाँको भनाइ थियो,’ भट्टराईले भने ।

ओलीले भने अहिले आफूहरू प्रतिपक्षमा रहेको र निर्णय गर्ने ठाउँमा नभएको जनाउँदै सत्ता गठबन्धनको धारणा कुरिरहेको जवाफ दिएका थिए । ‘सम्झौता कार्यान्वयन गर्ने दायित्व सरकारमा रहेकाहरूको हुन्छ भनेर हाम्रा अध्यक्षले प्रस्ट भन्नुभएको छ,’ भट्टराईले भने, ‘सत्ता गठबन्धन अहिले दुई–तीनतिर फर्केको छ । उहाँहरूको धारणा आएपछि हाम्रो निर्णय के गर्नुपर्छ, गर्छौं ।’

कान्तिपुर