काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन्। बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए।
‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं,’ अध्यक्ष राउतले भने, ‘नभए अरू ठाउँमा त भन्न सकिन्न तर तराई–मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं।’
जनमत पार्टी निर्वाचनविरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं। निर्वाचनमा जानुअगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनुपर्यो। किनकी एकैदिनमा यो समस्या समाधान हुने होइन। यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन।
अहिलेसम्म त्यही ३/४ जना नेताको अनुहार आउने हो। जुनसुकै सरकार आए पनि अजेन्डा यही रहने हो। त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्परता देखाएको भए हुन्थ्यो।’ सञ्चारकर्मीको जिज्ञासामा राउतले भने, ‘किसान आन्दोलनको ज्ञापनपत्र नलिने तर विदेशीको स्वार्थको पछाडि हाम्रा नेताहरू दौडिरहेका छन्।’










प्रतिक्रिया दिनुहोस्