२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


एमसिसीको पत्रसँगै दोहोरो चरित्र प्रकट


962
Shares

काठमाडौँ । नेपालको तर्फबाट एमसिसी मुख्यालयसँग सत्ता गठबन्धनका दुई नेताले गरेको पत्राचार सार्वजनिक भएसँगै राजनीतिको दोहोरो चरित्र प्रकट भएको छ।

वर्तमान सत्ता गठबन्धनका दुई प्रमुख नेता प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी मुख्यालयलाई सम्झौता कार्यान्वयनको प्रतिबद्धतासहित पत्र लेखेका थिए।

एकातिर एमसिसी पारित गर्न अन्तर्राष्ट्रिय निकायलाई पत्र लेखेर प्रतिबद्धता व्यक्त गर्ने र अर्कोतिर त्यसविरुद्ध वक्तव्य दिएर राष्ट्रिय राजनीतिलाई प्रज्वलनशील तुल्याइरहने सत्ता गठबन्धनका नेताहरूको व्यवहार फेरि एकपटक उद्घाटित भएको छ।

गठबन्धनका नेताद्वय देउवा र दाहालले लेखेको पत्रसँगै त्यसको जवाफमा एमसिसी मुख्यालयबाट आएको पत्रसमेत सार्वजनिक भएको छ। सत्ता गठबन्धन बनेलगत्तै देउवा र दाहालले एमसिसीलाई लेखेको पत्र झन्डै ६ महिना गोप्य रह्यो।

यो पत्र त्यति बेला सार्वजनिक भएको छ, जतिबेला सत्ता गठबन्धनमा खटपटको संकेत देखिएको छ। गठबन्धन दलका नेताहरूले गठबन्धन निर्वाचनसम्म कायम रहन्छ भनी दिएको प्रतिक्रिया यसैको परिणाम रहेको खुलासासमेत अहिले भएको छ।

यी पत्र अहिले सार्वजनिक हुनुको पछाडि सत्ता गठबन्धनमा उत्पन्न अविश्वास मुख्य कारक रहेको छ। दाहालले पहिला एमसिसी पारित गर्ने सहमतिसहितको पत्र लेखेर अहिले त्यसैविरुद्ध वातावरण बनाउन थालेपछि यो स्थिति उत्पन्न भएको हो।

देउवा र दाहालले लेखेको पत्रका आधारमा यही फागुन १६ अर्थात् फेब्रुअरी २८ भित्र नेपालले एमसिसीबारे निर्णय गर्नुपर्ने आग्रहसहितको जवाफ पनि एमसिसी मुख्यालयबाट प्राप्त भइसकेको छ।

एमसिसी मुख्यालयले यही माघ २० ९फेब्रुअरी ३० मा पठाएको पत्रमा नेताद्वयले माग गरेअनुसार समय दिइएको मात्र छैन, नेपालले निर्णय नगर्ने हो भने यो सम्झौताबाट अलग हुने प्रस्ट सन्देशसमेत छ।

नागरिक