काठमाडौं । विद्युतीय कारोबारबाट सर्वसाधारण ठगिने क्रम बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि सातबुँदे सुझाव सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजरनेम तथा पासवर्ड माग्ने, जस्ता कार्य बढ्न थालेको र ठगी हुन थालेको भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई सचेत पारेको हो । नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिट्ठा परेको भनी लोभ देखाई उक्त चिट्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गनेलगायतका गतिविधिमार्फत ठगी भइरहेकाले यस्तो गतिविधिबाट बच्न आग्रह गरिएको हो ।
अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन, मोबाइल तथा अन्य डिभाइस एवं एपका पासवर्ड बेलाबेलामा परिवर्तन गरिरहन, सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको व्यहोरा अन्य माध्यमबाट यकिन गरेर मात्र रकम पठाउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ ।
नेपाल राष्ट्र बैंकले अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्न नहुने पनि उल्लेख गरेको छ । यसरी अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्नेतर्फ पनि सजग गराइएको छ।










प्रतिक्रिया दिनुहोस्