Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


‘भाइलाई नसोध्नु होला तनाव हुन्छ’

भगवती लेमिनेट्स कर छली प्रकरण

1.6k
Shares

काठमाडौं । भगवती लेमिनेट्सले गरेको राजस्व ठगीको प्रमाण एकपछि अर्को गरी थपिँदै गएको छ । नेपाल समाचारपत्रलगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सोही संस्थाका एक वरिष्ठ कर्मचारीले फेरि अर्का डिलरले फर्जी बिलबीजक जारी गरेको प्रमाण उपलब्ध गराएका छन् । काठमाडौं मनमैंजुस्थित ओमकुमार प्लाइउडको नाममा मंसिर १८ गते भगवती लेमिनेट्सले पठाएको कच्चा बिलको स्टेटमेन्ट नेपाल समाचारपत्रलाई प्राप्त भएको छ ।

ओमकुमार प्लाइ सेन्टरका सञ्चालक मीनराज शेर्पाले भगवती लेमिनेट्सका सामान आफूले हाल बिक्री नगरेको बताउनुभएको छ । उहाँले आफू केही महिनादेखि विराटनगरमा रहेको र डिलरमा भाइ भएकाले धेरै कुरा थाहा नभएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘काम गरेर खाने हो, मैले ऋण गरेरै दोकान गरेको हुँ, हामीले सित्तैमा कसैको सामान लिएको छैन ।’

भगवती लेमिनेट्सले ओमकुमार प्लाइउडको नाममा बिल काट्दा कच्चा र पक्का भनी दुई थरी काटेको छ, राजस्व ठगी गरेको छ, यसमा तपाईंहरू पनि कारबाहीको भागीदार हुनुहुन्छ नि भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो– ‘हुन्छ नि कम्पनीले जे गर्छ गरोस्, मलाई केही मतलब भएन । हामीले राजस्व छलेका छैनौं, कागजपत्र छ हामीसँग, कम्पनीका कर्मचारी आए पनि डर छैन ।’

बजारमा भगवतीका सामान छैनन्, तपाईंले के बेचिरहनुभएको छ भनी सोधिएको प्रश्नमा शेर्पाले भन्नुभयो– ‘कम्पनीले त्यही भएर होला हिजोआज सामान दिएको छैन, म भाइको बिहेमा पूर्वतिर छु, सबै डिटेल काठमाडौं गएपछि मात्र थाहा हुन्छ ।’ तपाईंको भाइसँग कुरा गरौं त भनी जिज्ञासा राख्दा उहाँले अहिले भाइलाई तनाव हुन्छ केही कुरा नगर्नु होला भन्नुभयो ।

नेपाल समाचारपत्र