
काठमाडौं । उत्तर कोरियाले पछिल्लो पाँच वर्षयताकै शक्तिशाली मिसाइल परीक्षण गरेको छ ।
आज बिहान परीक्षण गरेको मिसाइल सन् २०१७ यताकै शक्तिशाली रहेको अनुमान गरिएको छ ।
उत्तर कोरियाले स्थानीय समयअनुसार आज बिहान ७ बजेर ५२ मिनेट जाँदा पूर्वी तटीय क्षेत्रबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ ।
अमेरिका, जापान र दक्षिण कोरियाले मिसाइल परीक्षणलाई लिएर उत्तर कोरियाको आलोचना गर्दै आएका छन् ।
उत्तर कोरियाले यो जनवरीमा मात्रै सातौँपटक मिसाइल परीक्षण गरेको हो ।
ब्यालेस्टिक मिसाइल तथा परमाणु हतियार परीक्षण गर्न नपाउने गरी संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ । तर, उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्दै आएको छ ।
उत्तर कोरियाले आज मध्यम दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले जनाएको छ ।
यसअघि यो क्षमताको मिसाइल उत्तर कोरियाले सन् २०१७ को नोभेम्बरमा परीक्षण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्