
काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने विश्वास प्रशासनले लिएको छ । बस माइक्रो र टेम्पुमा लगाइदै आइएको जोरबिजोर प्रणाली शुक्रबार हटाइएपछि कार्यालय खुल्ने पहिलो दिन आइतबार काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुनेमा प्रशासनका अधिकारीहरू विश्वस्त छन् ।
‘जोरबिजोरले गर्दा बस, टेम्पो र माइक्रोमा कोचाकच गरी यात्रा गर्नुपरेको गुनासो सर्वसाधारणले गर्दै आएका छन् । यसलाई ध्यानमा राखेर सार्वजनिक सवारीमा शुक्रबारदेखि जोरबिजोर प्रणाली पनि हटाएका छौं । आइतबारदेखि भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना हुने विश्वास गरेका छौं’ –ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भन्नुभयो ।
प्रशासनले भीडभाड कम गर्न गत सातादेखि सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो । आर्थिक गतिविधि चालु गर्दै भीडभाड कम गर्ने उद्देश्यले सो प्रणाली लागू गरेपछि निजी सवारी साधन नहुने सर्वसाधारणलाई निकै सास्ती भएको पाइएको छ । अफिस जानआउन घण्टौं गाडी पर्खिएर पनि कोचाकोच गरी यात्रा गर्नुपर्ने बाध्यता उत्पन्न भएको थियो । २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम बसमा लागु नहुने स्थिति निम्तिएको थियो । सार्वजनिक यातायातमा मानिसको चाप बढ्ने भएकाले संक्रमण झन् फैलने विज्ञहरूले बताउँदै आएका थिए ।
‘सामाजिक सञ्जालमा सार्वजनिक सवारी साधनको अनुगमन गर्न आग्रह गर्दै सर्वसाधारणले प्रतिक्रिया यत्रतत्र लेखेका थिए । जोर–बिजोर प्रणालीले नागरिकलाई सास्ती बढेको भन्दै चौतर्फी विरोध भएको थियो।नागरिकको सहजताका लागि जोर–बिजोर प्रणाली हटाइएको हो ।’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्