
काठमाडौं । सामान्य अवस्थामा काठमाडाैं उपत्यका (काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाभित्र) मा दैनिक २० हजार सार्वजनिक सवारीसाधन गुड्छन् । टेम्पो, माइक्रो मिनिबस, बस, ट्याक्सीलगायतका सार्वजनिक सवारीसाधनमा औसतमा दैनिक चार लाखपटक मानिस ओहोरदोहोर गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाइ छ ।
सामान्य अवस्थामा सबै सवारीसाधन गुड्दा पनि बिहान कार्यालय जाने र बेलुका घर फर्किने वेला सार्वजनिक सवारीसाधनमा ठेलमठेल गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिला, बिरामी तथा शारीरिक रूपमा फरक क्षमताका मानिसलाई चढ्न र झर्न समस्या नै हुने गर्छ ।
तर, ७ माघदेखि प्रशासनले सार्वजनिक सवारी सञ्चालनमा लगाएको जोरबिजोर प्रणालीले सडकमा गुड्ने सार्वजनिक सवारीसाधनको संख्या अधिकतम १० हजारमा झरेको छ । जसले गर्दा दैनिक सार्वजनिक सवारी प्रयोग गर्नुपर्ने करिब चार लाख मानिसले १० हजार सवारीसाधनमै यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । जसले गर्दा यातायातमा झन् बढी भिडभाड हुन थालेको छ ।
यसले कोभिडबाट जोगिन दूरी कायम राख्ने सरकारकै नियमको धज्जी उडाएको छ । जोरबिजोर प्रणालीका कारण कोभिड संक्रमणको जोखिम बजेटको महसुस आफूहरूले गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्