
काठमाडौं । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले आर्थिक वर्ष २०७७/७८ मा मात्रै नक्कली बिल (कच्चा बिल) मार्फत ८० करोड बढीको कारोबार गरेको पाइएको छ ।
स्रोतका अनुसार सो प्रालिले गत एक वर्षको अवधिमा ३ सय करोड रुपैयाँ बराबरको कारोबार गरेकोमा ८० करोड बढीको कारोबार कच्चा बिलमार्फत गरेको छ । यसरी कच्चा बिलमार्फत कारोबार गरेर उसले सरकारलाई तिर्नुपर्ने राजस्व छल्दै आएको छ ।
यस हिसाबले एकै वर्षमा उसले सरकारलाई २५ करोड रुपैयाँ बढीको राजस्व छली गरेको स्रोतको दावी छ ।
भगवती लेमिनेट्स प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गर्दै आएको छ ।
सो कम्पनीले सबै जसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न अन्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ ।
भगवती लेमिनेट्सले कच्चा बिलमार्फत कारोबार गर्दा भुक्तानी लिने क्रममा कम्पनीका कन्ट्री म्यानेजर विकास सिंहका नाममा चेक काट्न लगाउने गरेको छ ।
भगवती लेमिनेट्सको ट्याक्स प्लानिङ (राजस्व छली) धन्दामा सहयोगी बन्दै आइरहेका डिलर पनि छानबिनमा पर्ने भएका छन् ।
काठमाडौं तथा काठमाडौंबाहिर रहेका डिलरले पनि भगवती लेमिनेट्ससँग कारोबार गर्दा संस्थाको नाममा चेक नकाटी व्यक्तिको नाममा चेक काटेर भुक्तानी दिँदा उनीहरू पनि राजस्व छली धन्दामा संलग्न रहेको देखिएको हो ।
राजस्व अनुसन्धान विभागले त्यस्ता डिलरमाथि पनि आवश्यकताअनुसार छानबिन र अनुसन्धान हुने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्