
काठमाडौं । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण सुरु भएको महामारीको तेस्रो लहर तीन सातापछि क्रमश: मत्थर हुँदै जाने सरकारी अधिकारीले आकलन गरेका छन् । उनीहरूको मुख्य चिन्ता भने तीव्र संक्रमणका कारण अस्पताल भर्ना दर अस्वाभविक ढंगले उकालो लाग्ने र त्यसले बिरामीको स्वास्थ्य उपचार र स्याहारमा आउन सक्ने जटिलतातर्फ छ ।
‘अबको तीन सातापछि अवस्था सामान्यतिर फर्कन थाल्ने हाम्रो आकलन छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘बढ्दो संक्रमणले अस्पताल भर्ना हुनेको संख्यामा अप्रत्याशित वृद्धि नभए हाम्रो स्वास्थ्य सेवा संरचना, पूर्वाधारले धान्न सक्छ ।’
तीन सातापछि भने धेरै जटिलता नदेखिएको खण्डमा अवस्था सामान्य हुँदै जाने उनको अपेक्षा छ । तर, अस्पताल भर्ना हुने संक्रमितको संख्या ह्वात्तै बढ्न सक्नेतर्फ चनाखो रहँदै त्यसैअनुरूपको तयारी भने गर्नुपर्ने उनी बताउँछन् ।
तेस्रो लहरमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ८२ हजार ५ सय ५० पुगेको छ । आईसीयूमा २ सय ३८ र भेन्टिलेटरमा ४३ जना छन् । जबकि दोस्रो लहरमा जेठ ७ गते सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १ सय ९२ पुगेको थियो । सोही दिन १ सय ७७ जनाको मृत्यु हुनुका साथै आईसीयूमा १ हजार ७ सय १६ र भेन्टिलेटरमा ५ सय ११ जना थिए ।
प्रतिक्रिया दिनुहोस्