
नवीन शर्मा र भरत केसी (इमेज)
काठमाडौं, फागुन २ । मजदुर, किसान तथा श्रमजीवी वर्गको उत्थान गर्ने नारा बोकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शक्तिशाली सरकारले दुई वर्ष पूरा गरेको छ ।
सत्ताधारीहरुले दुईवर्षे कार्यकाल निकै सफल र उत्साहजनक दाबी गरे पनि गरिखाने वर्गले भने निराशा व्यक्त गरेका छन् ।
कम्युनिष्ट पार्टीको नेतृत्वमा दुईतिहाइको सरकारले दुई वर्षको अवधि बिताएको छ । गरिखाने वर्गको नजरमा भने यी दुई वर्ष पटक्कै उत्साहजनक रहेन ।
काठमाडौंको व्यस्त बजार न्यूरोड क्षेत्रमा भारी बोकेर गुजारा चलाउनेहरु कम्युनिष्ट सरकार भनिएपनि आफूहरुले त्यस्तो अनुभूति गर्न नपाएको सुनाउँछन् ।
कम्युनिष्ट पार्टीको सरकारले सर्वहारा, गरिब, मजदुर तथा सुकुम्वासीको पक्षमा काम गर्छ भन्ने सुनेको भएपनि सहरमा जुत्ता सिलाउने र रिक्सा चलाएर गुजारा चलाउनेहरुको न जीवनस्तर फेरिएको छ न त उनीहरुलक्षित कार्यक्रम नै सरकारले ल्याएको छ ।
दुई वर्षमा प्रत्यक्ष राहत पुग्ने कुनै काम भएको छैन, सरकारले सुशासनको अनुभूति दिन सकेको छैन । जनजीविकाका सवाल सम्बोधन कतै भएको छैन ।
मुलुकमा दुईतिहाइको कम्युनिष्ट सरकार बन्दा अपार हर्षित भएका नागरिकमा अहिले चरम निराशामात्र बाँकी छ ।
योग्यताअनुसारको काम र कामअनुसारको दाम भन्नेहरुले सरकारमा पुगेपछि ‘खोला तर्यो, लौरो बिर्सियो’को शैली अपनाएको र नेताहरुमा स्वार्थी र सामन्ती चरित्र देखिएको सर्वसाधारणको बुझाइ छ ।
कम्युनिष्ट नेताहरूले आन्दोलन र चुनावको बेला लगाएका चर्का नारा सार्थक नहुँदा जन्मिएको निराशा हो, यो । त्यसमाथि दुईवर्षे कार्यकालले कम्युनिस्टहरुप्रतिको अविश्वास पनि बढाएको प्रष्ट छ ।
सर्वसाधारणमा व्याप्त निराशा वर्तमान सरकारको असफलताको मानक पनि हो ।
प्रतिक्रिया दिनुहोस्