
काठमाडौं, फागुन १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका १३औं तथा अन्तिम चरणका खेलहरु भइरहेका छन् ।
बिहीबार भएका खेलमा विजयी हुँदै नेपाल पुलिस क्लब र संकटा क्लबले सुखद अन्त्य गरेका छन् ।
पुलिस ३–० फ्रेन्ड्स, जुमनुको ‘ह्याट्रिक’
पुलिसले फ्रेन्ड्स क्लबलाई ३–० ले हरायो । पुलिसलाई जिताउनेक्रममा जुमनु राईले ‘ह्याट्रिक’ गरे ।
संकटा ६–२ सरस्वती
त्यस्तै, संकटा क्लबले सरस्वती युथ क्लबलाई ६–२ को फराकिलो अन्तरले हरायो ।
संकटाका लागि मेसोउकेले दुई तथा सुवास गुरुङ, टिकाराज गुरुङ र रोशन पहाडीले एक/एक गोल गरे । सरस्वतीका पूर्णबहादुर श्रेष्ठले एक आत्मघाती गोल गरेका थिए ।
सरस्वतीका लागि दुवै गोल काजिम बुसारीले गरेका थिए ।
सशस्त्र १–१ बिग्रेड ब्वाइज
यसपटक कमजोर प्रदर्शन गरेको सशस्त्र प्रहरीको एपीएफ क्लबले अन्तिम खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग १–१ गोलको बराबरी खेल्यो ।
सशस्त्रका आशिष लामाले ४४औं मिनेटमा गोल गरे पनि अन्तिममा सम्हालिन नसक्दा ‘इन्जुरी’ समयमा विजय गुरुङले गोल गर्दै बराबरी गरे ।
शुक्रबार पनि तीन खेल
शुक्रबार पनि तीन खेल हुनेछन् ।
बिहान पौने ९ बजे हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी)सँग, दिउँसो सवा १२ बजे थ्रीस्टार क्लबले च्यासल युथ क्लबसँग र दिउँसो साढे ३ बजे मनाङ–मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ । सबै खेल कम्प्लेक्सको मैदानमा हुनेछन् ।
अन्तिम खेल
जारी लिगको अन्तिम खेल शनिबार दशरथ रंगशालामा हुनेछ । दिउँसो साढे १ बजे हुने त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको खेलबाटै यसपटकको लिग विजेता छानिने छ ।
अंकतालिका
लिग तालिकामा अहिलेसम्म आर्मी २९ अंकसहित पहिलो, मच्छिन्द्र २८ अंकसहित दोस्रो, मनाङ २५ अंकसहित तेस्रो र थ्रीस्टार २३ अंकसहित चौथो स्थानमा छ ।
सबै खेल खेलेको पुलिस २० अंकसहित पाँचौं, एक खेल कम खेलेको जावलाखेलको १९ तथा सबै खेल खेलेको संकटाको १८ अंक भएको छ । च्यासल र एनआरटीको समान १५ अंक छ । फ्रेन्ड्सको १४ तथा हिमालयनको ११ अंक छ ।
सबै खेल खेलेका सशस्त्र र बीबीसीको समान ९ तथा ‘रेलिगेसन’मा परेको एकमात्र टिम सरस्वतीको ४ अंक छ ।
प्रतिक्रिया दिनुहोस्