Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


डिजेलको भाउ अहिलेसम्मकै महँगो, पेट्रोलको मूल्य पनि ‘रेकर्ड ब्रेक’ गर्ने अंकनजिक


10k
Shares

काठमाडौं । नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पछिल्ला ६ महिनामा चौथोपटक मूल्य बढाइएको हो । डिजेल त अहिलेसम्मकै महँगो बनाइएको छ भने पेट्रोलको मूल्य पनि ‘रेकर्ड ब्रेक’ गर्ने अंकनजिक पुर्‍याइएको छ ।

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ बढाइएको छ । त्यस्तै, आन्तरिक हवाई इन्धन प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटरमा एक सय डलर वृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल एक सय ३९ रुपैयाँ, डिजेल र मट्टीतेल समान एक सय २२ रुपैयाँ प्रतिलिटर हुनेछ । त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य एक सय ६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य नौ सय ९५ रुपैयाँ प्रतिकिलोलिटर निर्धारण गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

निगमले ३० फागुन ०७० मा मूल्यवृद्धि गरी पेट्रोल एक सय ४० रुपैयाँ तथा डिजेल र मट्टीतेल एक सय नौ रुपैयाँ प्रतिलिटर पुर्‍याएको थियो । तर, बुधबार रातिबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय २२ रुपैयाँ निर्धारण गरेको छ, जुन अहिलेसम्मकै महँगो हो । त्यस्तै, पेट्रोलको मूल्य पनि सर्वाधिक महँगो हुने ‘रेकर्ड’नजिक पुगेको छ, एक रुपैयाँ मात्रै कम छ ।

नयाँ पत्रिका