Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


विभाजनको ६ महिनामै जसपामा मतभेद


1.5k
Shares

काठमाडौं । विभाजन भएको ६ महिनामै जनता समाजवादी पार्टी (जसपा) मा गम्भीर विवाद देखिएको छ। जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीचको मतभेदले पार्टीमा स्पष्ट रूपमा दुई गुट देखिएको छ। भट्टराई पक्षधर नेताले उनलाई कार्यकारी अधिकार सहित कार्यकारिणी समितिको अध्यक्ष र अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउनुपर्ने माग गरेका छन्।

जसपाबाट अलग भई महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि जसपामा कार्यकारिणी अध्यक्षको एक पद खाली छ। ठाकुरले पार्टी छाडेपछि रिक्त सो पदमा भट्टराईलाई ल्याउनुपर्ने उनी पक्षधर नेताहरूको माग छ। जसपा विधानमा दुईजना कार्यकारिणी अध्यक्ष हुने व्यवस्था छ। यादव पक्षधर नेताले भने जसपालाई एकल अध्यक्ष प्रणालीमा लैजानुपर्ने तर्क गरेका छन्।

भट्टराई पक्षधर नेताहरू उनलाई ‘सेरोमोनियल’ अध्यक्षका रूपमा संघीय परिषद्को नेतृत्व दिइएकोमा सन्तुष्ट छैनन्। सबै कार्यकारी अधिकार यादवसँग रहेकाले भट्टराई पक्षधर नेताहरू असन्तुष्ट भएका हुन्। पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्दा कार्यकारिणी अध्यक्ष यादवले एकलौटी निर्णय गरेको भट्टराई पक्षधर नेताहरूको आरोप छ। भट्टराई र यादव पक्षबीच अहिले कार्यकारिणी अधिकार प्रयोगको विषयलाई लिएर विवाद उत्पन्न भएको हो।

भट्टराईसँग निकट कार्यकारिणी समितिका सदस्य तथा पूर्वमहासचिव गंगानारायण श्रेष्ठ राष्ट्रिय चरित्रको पार्टी निर्माण गर्न र पार्टीलाई सामूहिक समावेशी नेतृत्व प्रणालीमा लैजान ३ वटा कलस्टरलाई समेटेर तीनजना अध्यक्ष बनाउनुपर्ने बताउँछन्। ‘विधान अधिवेशन नहुँदासम्म अहिलेको विधानले व्यवस्था गरेअनुसार ३ वटा कलस्टर समेटेर तीन जना अध्यक्ष (२ कार्यकारिणी र १ संघीय परिषद्) चयन गरौं भन्ने हाम्रो माग हो,’ श्रेष्ठले भने, ‘विधान अधिवेशनपछि यो व्यवस्था विधानमै राखौं।’

नागरिक